नवलपरासी ।
जिल्लामा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसा बिरूद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार सरोज ढुङ्गेललाई प्रदान गरिएको छ ।

राधा क्यान्सर सचेतना फाउन्डेसन कावासोती २ नवलपरासी पूर्वले सो पुरस्कार शनिबार गोरखापत्रका रिपोर्टर ढुङ्गेललाई प्रदान गरि सम्मान गरिएको संस्थाका अध्यक्ष प्रकाश बस्यालले बताउनु भयो ।
संचारकर्मी स्वर्गीय राधा शर्माको स्मृतिमा स्थापित उक्त पुरस्कार हरेक वर्ष स्वास्थ्य तथा घरेलु हिंसाका क्षेत्रमा कलम चलाउने पत्रकारलाई बितरण गरिदै आएको छ ।
झण्डै दुई दशक देखि क्यान्सर,मृगौला जस्ता नसर्ने रोग एवं स्वास्थ्यका क्षेत्रमा कलम चलाउदै आएका पत्रकार ढुङ्गेलले प्राप्त पुरस्कार र सम्मानले आँफूलाई यसै क्षेत्रमा अझ सशक्त रूपले लाग्न हौसला थपेको बताउनु भयो ।पत्रकार राधा स्वयं हिंसा र क्यान्सर पीडित रहेर पनि पूर्ण आत्मवल र साहसका साथ समाजमा व्याप्त घरेलु हिंसा र क्यान्सर रोगका बिरूद्ध सचेतना कार्यक्रममा लागि रहदा रहदै उनको निधन भएको थियो ।
उनको निधन पछि परिवारजनका तर्फबाट फाउण्डेसन बनाई बितरण हुँदै आएको यो पुरस्कारमा २० हजार नगद राशी र सम्मानपत्र रहेको जनाईएको छ ।
उपस्थित प्रदेश सांसद लगायत जनप्रतिनिधिहरू,छरछिमेक,परिवारजन तथा आम संचारकर्मीहरू माझ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासंघ स्वास्थ्य तथा खोप शाखा प्रमुख डा।अभियान गौतम द्वारा सो पुरस्कार बितरण गरिएको थियो ।












प्रतिक्रिया