गुल्मी ।
गुल्मीमा पारिवारिक झगडाको दुःखद परिणामस्वरूप तीन महिनाको नवजात शिशुको ज्यान गएको घटनाले जिल्लावासीलाई स्तब्ध बनाएको छ । घटनापछि गहिरो शोक र आर्थिक संकटमा परेकी आमा कमला मुखियालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गरिएको छ ।
पीडाको यो घडीमा प्राप्त सहयोगले परिवारलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिका–३१ स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका पदमराज पौडेलले राहतस्वरूप खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।
वैदेशिक रोजगारीसम्बन्धी काम गर्दै आएका पौडेलले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावनाले आफू अघि सरेको बताए । यो ठूलो सहयोग होइन, तर दुःखमा परेको परिवारलाई सानो भए पनि साथ मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए ।
घरेलु झगडाबाट निम्तिएको भयावह घटना
गत माघ १४ गते राति गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारमा श्रीमान–श्रीमतीबीच भएको सामान्य भनाभनले उग्र रूप लिँदा दुःखद घटना घटेको थियो । ४६ वर्षीय सन्तबहादुर कुमाल (मुखिया) ले मादक पदार्थ सेवन गरेको अवस्थामा आक्रोशको आवेगमा आफ्नै तीन महिनाको छोरा सुवास कुमाललाई भुईँमा पछारेका थिए ।
गम्भीर चोटका कारण शिशुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुका अनुसार आरोपित बाबु सन्तबहादुरलाई घटनापछि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।शिशु हत्याको अभियोगमा उनी हाल प्रहरी हिरासतमा रहेका छन् ।
आमामाथि दोहोरो पीडा
घटनापछि आमा कमला मुखिया मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेको स्थानीयले बताएका छन् । नवजात शिशु गुमाउनुको असह्य पीडासँगै उनी शारीरिक रूपमा पनि गम्भीर समस्याबाट गुज्रिरहेकी छन् ।
कमलाका अनुसार करिब डेढ महिनाअघि श्रीमानबाट भएको कुटपिटका कारण उनको खुट्टा भाँचिएको थियो । आर्थिक अभावका कारण समयमै उपचार हुन नसक्दा उनी अझै घाइते अवस्थामै पीडादायी जीवन बिताउन बाध्य छिन् ।उपचारका लागि काठमाडौं लगिए पनि उपचार नगरि पुनः घर फर्किएकी छन् ।शारीरिक पीडासँगै मानसिक आघातले उनी गहिरो तनावमा रहेकी छन् ।पाँच जना छोराछोरीको पालनपोषणको सम्पूर्ण जिम्मेवारी अब उनकै काँधमा आएको छ । श्रीमान प्रहरी नियन्त्रणमा रहेकाले घरपरिवारको सम्पूर्ण भार एक्लै बोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सहयोगको खाँचो
मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गर्दै कठिन घडीमा साथ दिनु आवश्यक उनको लागि आवश्यक छ । पदमराज पौडेलद्वारा प्रदान गरिएको खाद्यान्न तथा लत्ताकपडाले केही दिनका लागि भए पनि राहत मिलेको कमला मुखियाले बताइन् ।
तर दीर्घकालीन रूपमा उपचार, बालबालिकाको शिक्षा तथा जीविकोपार्जनका लागि थप सहयोग आवश्यक देखिएको छ । दुःखद घटनाले एउटा परिवार मात्र होइन, समग्र समुदायलाई नै शोकमा डुबाएको छ ।











प्रतिक्रिया