काठमाडौं ।
रौतहटमा दुई समुदायबीचको तनाव चुलिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। शनिबार (फागुन ९) दिउँसो १ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेश जारी गरेका हुन्।
जिल्लाको गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ। अवस्था नियन्त्रणबाहिर जान सक्ने संकेत देखिएपछि सुरक्षा संवेदनशीलता मूल्यांकन गर्दै कर्फ्यु लगाइएको बताइएको छ।
तनावका क्रममा भएका उच्छृंखल गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रशासनले स्थानीयबासीलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ। जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त टोली परिचालन गरिएको छ।











प्रतिक्रिया