काठमाडौं ।
गौरमा कर्फ्यू जारी रहेकै अवस्थामा पनि आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरी नेपाली सेना परिचालन गरे पनि भित्री बस्तीहरूमा तनाव कायमै रहेको छ।
गौर नगरपालिका–४ मचकुटिया टोलमा एक स्कुटरमा आगजनी भएको छ। हालसम्म प्रदर्शनकारीहरूले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरेका छन्। मुख्य सडक क्षेत्र शान्त देखिए पनि भित्री भागहरूमा अवस्था अझै संवेदनशील रहेको जनाइएको छ।
गौर नगरपालिका–६ सनगढा गाउँमा दुई समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको हो। मुस्लिम समुदाय मस्जिदमा प्रार्थनामा रहेको बेला हिन्दु समुदायले बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद वडा नम्बर ४, ५ र ६ मा फैलिँदै झडपमा परिणत भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा केही सवारी साधनमा आगजनी र घरमा तोडफोड भएको छ भने केही व्यक्ति सामान्य घाइते भएका छन्।
थप हिंसा फैलिन सक्ने आशंकामा प्रशासनले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो। प्रशासनका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन्।











प्रतिक्रिया