भोक्राहामा चुनावी कार्यक्रममा झडप, प्रहरीद्वारा लाठीचार्ज


काठमाडौं ।

भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रमका क्रममा झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ।

ज्ञानेन्द्र कार्कीले सम्बोधन गर्ने तय भएको सभास्थलतर्फ जाने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवासँग जम्काभेट भएपछि विवाद चर्किएको थियो। दुवै पक्षका कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरी भीड तितरवितर पारेको जनाएको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवेका अनुसार कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताबीच विवाद बढ्दै गएपछि निर्वाचन सुरक्षामा खटिएको प्रहरीले बल प्रयोग गर्नुपरेको हो। उनका अनुसार विवादमा संलग्न दुवै पक्षका कार्यकर्ता छिमेकी भए पनि फरक राजनीतिक दलमा आवद्ध रहेका कारण झडपको अवस्था बनेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।