काठमाडौं ।
‘जान्नेलाई छान्ने’ र ‘सुशासन’ को नारा लिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आन्तरिक विवादका कारण संकटमा परेको छ। चुनाव नजिकिँदै गर्दा प्रभावशाली नेताहरूले टिकट वितरणमा आर्थिक चलखेल, अपारदर्शिता र स्वेच्छाचारिताको आरोप लगाउँदै धमाधम पार्टी परित्याग गर्न थालेपछि पार्टीको सांगठनिक अवस्था कमजोर बन्दै गएको छ।
पछिल्लो पटक बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। उनले निष्ठावान कार्यकर्तालाई उपेक्षा गर्दै नयाँ प्रवेशीलाई टिकट दिएको, आर्थिक अपारदर्शिता बढेको र गलत प्रवृत्तिले संसद् नै विकृत हुने खतरा रहेको आरोप लगाएका छन्।
यसअघि मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी भुर्तेलले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए। अन्य केही केन्द्रीय नेताहरूले समेत समान प्रकृतिका आरोप लगाउँदै बाहिरिएपछि रास्वपाको आन्तरिक लोकतन्त्र र नैतिक आधारमाथि प्रश्न उठ्न थालेको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरिरहेको रास्वपा अहिले आफ्नै आन्तरिक संकटसँग जुधिरहेको देखिन्छ। टिकट वितरणमा उठेका आर्थिक चलखेलका आरोपले चुनावी परिणाममा असर पार्ने आकलन गरिएको छ।











प्रतिक्रिया