बलराका पूर्व मेयर अभयकुमार सिंह कांग्रेसमा प्रवेश


काठमाडौ ।

सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रहेका सिंहलाई गएराति कांग्रेस सभापति गगनकुमार थापाले उनकै निवासमा पुगेर पार्टी प्रवेश गराएका हुन्।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा भने राजपा फुटपछि लोसपाबाट मेयरका उम्मेदवार बनेका उनी नेकपा माओवादी केन्द्रका रामाशंकर कुशवाहासँग पराजित भएका थिए।

सिंहसँगै बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशील झासहितका नेता तथा कार्यकर्ताहरू पनि नेपाली कांग्रेसमा प्रवेश गरेको जनाइएको छ।

यसअघि सर्लाही–४ का लोसपा नेता तथा पूर्व संविधान सभा सदस्य केदारनन्दन चौधरी र मनिष मिश्रलगायत नेताहरू पनि नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन्।