धनुषामा आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइयो


धनुषा ।

धनुषामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता विपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक किनारमा जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो।

प्रशासनले उम्मेदवार तथा राजनीतिक दललाई नियमविपरीतका सामग्री आफैँ हटाउन एक दिनको समय दिएको थियो। तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासनले कारबाहीस्वरूप सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।

सहरको सौन्दर्यमा असर पारेको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै अब पुनः यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। निर्वाचन वातावरण स्वच्छ र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने प्रशासनको भनाइ छ।