देशभर पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना


काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । यसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेश लगायतका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश का उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।