काठमाडौंमा अनेरास्ववियुको मसाल जुलुस, झण्डा जलाएको घटनाको छानबिन माग


काठमाडौं ।

काठमाडौंमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु ले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध गर्दै मसाल जुलुस निकालेको छ। जुलुस आरआर क्याम्पसबाट सुरु गरिएको थियो।

संगठनले झण्डा जलाउने कार्यलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमाथिको आक्रमण भन्दै आपत्ति जनाएको छ। एमालेले उक्त घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ भने रास्वपाले आरोपको खण्डन गर्दै आफ्नो संलग्नता नरहेको बताएको छ।

अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। मसाल जुलुसका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह को पुत्लासमेत जलाइएको थियो।