काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई शुक्रबार पक्राउ गरेको हो। बिहीबार तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपा सभापति रवि लामिछाने लाई स्वागत गर्न आयोजित कार्यक्रममा उपस्थित भीडका बीच एमालेको झण्डा जलाएको आरोप उनीमाथि लागेको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ।
प्रहरीले निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न तथा संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न सबै पक्षलाई आग्रह गरेको छ।











प्रतिक्रिया