पूर्वराजाको सन्देशले निर्वाचन नै बहिष्कार


हेटौंडा ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनपछि सर्वपक्षीय सहमतिबिना हुने निर्वाचन बहिष्कारको घोषणासहित एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

ज्ञानेन्द्रले फागुन ६ गते राष्ट्रलाई सम्बोधन गर्दै वर्तमान राष्ट्रिय संकट, राजनीतिक अस्थिरता तथा जनअसन्तुष्टिको अवस्थाबारे स्पष्ट संकेत गरेको र उक्त सम्बोधनले देश गम्भीर मोडमा पुगेको तथ्य उजागर गरेको भन्दै मकवानपुर–१ का स्वतन्त्र उम्मेदवार राकेशकुमार शर्माले निर्वाचन नै बहिष्कार गर्नुभएको हो ।

‘यस्तो अवस्थामा राष्ट्रिय सहमति, सर्वदलीय संवाद र व्यापक राजनीतिक समझदारीबिना फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन मुलुकको समस्याको स्थायी समाधान हुन सक्दैन भन्ने मेरो ठोस धारणा छ,’ उहाँले जनभावना, राष्ट्रियहित र दीर्घकालीन स्थिरतालाई बेवास्ता गर्दै गरिने निर्वाचन प्रक्रियाले निर्वाचन पछि मुलुकमा झन् द्वन्द्व, विभाजन र अन्यौलता बढाउने जोखिम देखिने दाबी गर्नुभएको छ ।

अतः सर्वपक्षीय सहमति, संवैधानिक स्पष्टता र राष्ट्रिय एकता सुनिश्चित नभएसम्म हुने निर्वाचन प्रक्रियामा आफ्नो कुनै प्रकारको सहभागिता नरहने उहाँले स्पष्टरुपमा घोषणा गर्नुभएको छ । ‘यस निर्णयमार्फत म उक्त निर्वाचन औपचारिकरुपमा बहिष्कार गरी मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदछु,’ शर्माले उक्त कदम शान्तिपूर्ण राजनीतिक असहमति र वैधानिक अभिव्यक्तिको अधिकारअन्तर्गत लिइएको बताउनुभएको छ ।

पहिले राष्ट्रिय समस्याको समाधान गरेरमात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएरमात्र निर्वाचनमा जाँदा त्यसले सही बाटो समात्ने थियो भन्ने अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब हो,’ उहाँले आमजनताको चाहना नै त्यही रहेको बताउनुभयो । पूर्वराजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा देशवासीको नाममा दिनुभएको सन्देशमा व्यक्त विचारको आफूले स्वागत र समर्थन गरेको उहाँको भनाइ छ ।

पूर्वराजा शाहले सन्देशका भन्नुभएको थियो–हालको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ । आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द्व र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदा नै सही बाटो हुने थियो । उक्त क्षेत्रमा अब २० उम्मेदवार कायम छन् ।