धादिङ ।
नीलकण्ठ नगरपालिका का मेयर भीम प्रसाद ढुङ्गानाले नगरलाई शिक्षासँगै खेलकुदको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बुधबार आयोजित दोस्रो नीलकण्ठ मेयर फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मेयर ढुङ्गानाले खेलकुद क्षेत्रको विकासमार्फत युवालाई सकारात्मक मार्गमा अघि बढाउने लक्ष्य लिएको बताउनुभयो। उहाँका अनुसार नगरपालिका गठन भएयता फुटबल, ब्याडमिन्टन, फुटसल लगायत विभिन्न विधामा प्रतियोगिता आयोजना गर्दै खेल गतिविधिलाई निरन्तरता दिइँदै आएको छ।
“हामीले नीलकण्ठलाई शिक्षाको हब बनाइसकेका छौँ, अब खेलकुदको पनि हब बनाउने अभियानमा छौँ,” मेयर ढुङ्गानाले भन्नुभयो, “सीमित स्रोत–साधनका बाबजुद पनि खेलकुदलाई प्राथमिकतामा राखेका छौँ।”
देशको वर्तमान आर्थिक अवस्था र नगरपालिकाको आन्तरिक स्रोत सीमित रहे पनि हरेक वर्ष बजेट व्यवस्थापन गरी खेलकुद कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले जानकारी दिनुभयो। खेलाडीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि प्रतियोगिता महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै कना–कानामा रहेका खेल प्रतिभालाई अवसर दिई प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य लिएको उहाँको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै धादिङलाई खेतकुदबाट अन्तर्राष्ट्रिय स्तरमा चिन्ने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीयलाई २२ हजार २ सय २२ रुपैयाँ र सान्त्वना हुने टोलीलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई ६ हजार ६ सय ६६ रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।
२६ टिम सहभागी फुटसल प्रतियोगिता तिनदिन संचालन हुनेछ ।











प्रतिक्रिया