काठमाडौं।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलफल तथा अन्तरक्रिया गरेका छन् । कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयबाट मंगलबार आयोजना गरिएको हो।
अन्तरक्रियामा डीआईजी काफ्लेले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रक्रिया, त्यसमा अपनाउनुपर्ने संवेदनशीलता र सतर्कता, तथा समसामयिक चुनौतीका विषयमा विस्तृत चर्चा गरे। उनले पत्रकार सम्मेलन र प्रेस विज्ञप्तिमा देखिने प्रवृत्तिहरूको समीक्षा गर्दै सूचना प्रवाह गर्दा संवैधानिक व्यवस्था र कानुनी दायरालाई विशेष ध्यान दिनुपर्ने बताए।
उनले सूचनाको हकसम्बन्धी संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन, २०६४, नेपाल प्रहरीका आधिकारिक सञ्चार माध्यम, सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी व्यवस्थाहरूको बारेमा उपस्थित अधिकृतहरूलाई जानकारी गराए।
डीआईजी काफ्लेले नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचना सधैं सत्य, वस्तुनिष्ठ र पारदर्शी हुनुपर्नेमा जोड दिए। विशेषगरी सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्ने उल्लेख गर्दै उनले गलत वा अपुष्ट सूचना प्रसारणले संगठनको विश्वसनीयतामा असर पार्न सक्ने चेतावनी दिए।
“सूचना सम्प्रेषणले आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधार अभिवृद्धि गर्ने हुनुपर्छ,” उनले भने, “यसले संगठनको श्रीवृद्धिमा समेत योगदान पुर्याउने गरी काम गर्नुपर्नेछ।”
कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं सूचना अधिकारीहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो। साथै सातै प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रवक्ता एवं सूचना अधिकारीहरू समेत भर्चुअल रूपमा सहभागी भएका थिए।











प्रतिक्रिया