काठमाडौं ।
सन् २०२६ को पहिलो खगोलीय घटनाका रूपमा मंगलबार वलयाकार सूर्यग्रहण लाग्ने भएको छ। वैज्ञानिकहरूले यस दुर्लभ दृश्यलाई ‘रिङ अफ फायर’ अर्थात् ‘आगोको घेरा’ नाम दिएका छन्।
चन्द्रमा पृथ्वीबाट टाढा रहेको अवस्थामा सूर्य र पृथ्वीको बीचमा पर्दा सूर्यको बीच भाग ढाकिन्छ भने किनारातिर चम्किलो घेरा देखिन्छ। यही कारण यस प्रकारको सूर्यग्रहणलाई वलयाकार अथवा ‘रिङ अफ फायर’ भनिन्छ। पूर्ण सूर्यग्रहणभन्दा फरक, यसमा सूर्य पूर्ण रूपमा ढाकिँदैन, बरु आगोको गोलो जस्तो आकृति देखिन्छ।
खगोलविद्हरूका अनुसार यो अद्भुत दृश्य विश्वका सबै स्थानबाट देख्न सकिने छैन। पृथ्वीको निश्चित भूभागबाट मात्र प्रत्यक्ष अवलोकन सम्भव हुनेछ। विश्वको कुल जनसंख्याको सानो प्रतिशतले मात्रै यो दुर्लभ खगोलीय घटना प्रत्यक्ष रूपमा देख्न पाउने अनुमान गरिएको छ।
नेपालबाट भने यो सूर्यग्रहण पूर्ण वलयाकार रूपमा नदेखिने सम्भावना रहेको बताइएको छ। सम्बन्धित निकायहरूले ग्रहण अवलोकन गर्दा सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका छन्। विशेष फिल्टरयुक्त चस्मा वा वैज्ञानिक उपकरण बिना नाङ्गो आँखाले सूर्यतर्फ हेर्नु आँखाका लागि हानिकारक हुन सक्छ।
खगोलविद्हरूले यस्तो खगोलीय घटना वैज्ञानिक अध्ययन र जनचासोका दृष्टिले महत्त्वपूर्ण हुने बताएका छन्। ‘रिङ अफ फायर’ सूर्यग्रहणले एकातिर ब्रह्माण्डीय संरचना र ग्रहहरूको चालबारे थप अध्ययनको अवसर दिनेछ भने अर्कोतर्फ सर्वसाधारणमा विज्ञानप्रतिको चासो र जिज्ञासा बढाउने अपेक्षा गरिएको छ।
यसअघि पनि विभिन्न वर्षहरूमा वलयाकार सूर्यग्रहण देखिएको भए पनि २०२६ को यो घटना वर्षको पहिलो ठूलो खगोलीय आकर्षणका रूपमा हेरिएको छ। वैज्ञानिक समुदाय र आकाशप्रेमीहरू मंगलबारको यो दुर्लभ दृश्यको प्रतिक्षामा रहेका छन्।











प्रतिक्रिया