सामान्य भाषामा निर्वाचन भनेको जनताले आफ्नो प्रतिनिधि छान्ने प्रक्रिया हो । अलिकति फराकिलो रुपमा बुझ्दा निर्वाचन जनताले आफ्नो वैचारिक एवं राजनीतिक प्रतिनिधि छनौट गर्ने पद्धति हो । यो लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण पक्ष हो, जुन सम्बन्धित देशको संविधान र कानुनअनुसार निश्चित समयमा सम्पन्न गरी प्रतिनिधिहरु चयन हुन्छन् । निर्वाचन नै त्यस्तो औजार हो जसले प्रत्येक नागरिकका अभिमतलाई प्रतिनिधिमार्फत जाहेर गर्ने निकास प्रदान गर्दछ । निर्वाचन प्रजातान्त्रिक मुलुकको नागरिकको सार्वभौम अधिकार अभ्यास गर्ने प्रचलित विधि हो । निर्वाचनको केही मूलभूत सिद्धान्तहरु रहेका छन्, जुन सिद्धान्तले विश्वव्यापीरुपमा मान्यताप्राप्त गरेको पाइन्छ । जस्तै– विश्वव्यापी मताधिकार, समान मताधिकार, मतपत्रको गोपनीयता, उम्मेदवारी दिन र निर्वाचित हुन पाउने अधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता, गोप्य मतदानको अधिकार, मतगणनाको सुनिश्चितता आदि विषय निर्वाचनको मूलभूत सिद्धान्त हुन् । विभेदबाट स्वतन्त्रता, निर्वाचन प्रक्रियामा भाग लिनका लागि लैंगिक समानता, भाषिक, जातिगत तथा धार्मिक स्वतन्त्रता, दलगत संगठनमा आबद्ध हुन पाउने अवसर तथा राष्ट्रिय मूलधारमा प्रतिनिधित्व गराउने अवसर पनि निर्वाचनले दिनुपर्ने हुँदा निर्वाचनको सामान्य सिद्धान्तअन्तर्गत यी विषयलाई पनि समेटिएको पाइन्छ ।
यसरी हाम्रो देशले पनि प्रजातान्त्रिक अभ्यास गर्दै आइरहेको छ भने संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित गरी संघ, प्रदेश र स्थानीय तहमा संरचित गरेको छ । स्थानीय तहदेखि नै राज्य सञ्चालनमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै न्यायिक समितिको समेत परिकल्पना गरी त्यसलाई संरचनात्मक व्यवस्थापन गरेको छ । यसको नियमितताको लागि आवधिक निर्वाचनलाई सुनिश्चित गरी जनताको बालिग मताधिकारलाई सुरक्षितसमेत गरेको छ । शासन व्यवस्थामा सबै जातजाति, भाषा, धर्म तथा लैंगिक तबरबाट पनि समावेश गराउने ध्येयले विभिन्न वर्ग तथा समुदायको प्रतिनिधित्वलाई समेत सुनिश्चित गरिएको पाइन्छ । यसरी निर्वाचन प्रणालीलाई सम्पन्न गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई दिइएको हुन्छ । आयोगले स्वतन्त्र र निष्पक्ष तवरले राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका सदस्यको निर्वाचन सञ्चालन, रेखदेख र सोको नियन्त्रणसमेत गर्ने जिम्मेवारी पाएको हुन्छ ।
अब कुरा गरौं मतको, मत भनेको के हो ? देश २०८२ भाद्र २३ र २४ को त्यो जटिल परिस्थितिबाट गुज्रिएर पुस्तान्तरको एक परिवेशलाई पार गर्ने क्रममा निर्वाचनको प्रक्रियामा रहेको अवस्था छ । प्रक्रिया पूरा नभएसम्म आयोगको योग्यता र क्षमताको हकमा विविध प्रश्नहरु उठिरहनु स्वाभाविक हो । मत मतान्तरले विविध समुदायको उदय हुँदै जाँदा आज हामी प्रत्येक परिप्रेक्ष्यमा सांगठनिक पार्टी पद्धतिमा आफ्नो विचार व्यक्त गर्दछांै । यो एउटा राजनीतिक अभ्यास हो । मत भनेको विचार हो । आफ्नो विचारलाई व्यक्त गर्नु नै मत व्यक्त गर्नु हो । मानिस मात्र त्यस्तो प्राणि हो, जसले आफ्नो मतलाई विविध तरिकाबाट व्यक्त गर्न सक्छ र आफ्नो अधिकार स्थापित गर्ने आधार वा पथ तय गर्न सक्छ ।
निर्वाचनको सन्दर्भमा राजनीतिक विचारधारालाई आत्मसात् गरी विवेक प्रयोगबाट आफ्नो प्रतिनिधित्व चयनका लागि गोप्यरुपमा मतपत्रमा संकेत गर्ने चिह्न लगाउनु र गोप्यरुपमा दान गर्नु नै मतदान हो । यस्तो मतदान गर्दा मानिसले स्वतन्त्रपूर्वक गर्न पाउनुपर्छ । कसैको दबाब, धाकधम्कीमा परेर वा कुनै कुराको लोभलालच वा प्रलोभनमा परेर गर्नुहुँदैन । यदि यस्तो भएमा त्यो मतदान गर्नेको आफ्नो मत हुन सक्दैन । जसले दबाब दियो वा जुन प्रलोभनमा रहेर मत जाहेर गरियो, त्यसको स्वार्थको प्राप्तिको आधार मात्र हुने गर्दछ । त्यसैले यस्तो कार्य नहोस् भन्ने ध्येयका साथ निर्वाचन आयोगले निश्चित अवधिदेखि आचारसंहिता जारी गर्दछ । यदि हामी मतदाता सचेत नहुने हो भने यी माथि उल्लिखित यावत् तरिकाहरु अपनाइन सक्छन् ।
आजको युग एक्काइसौं शाताब्दीको युग हो । विश्व नै साँघुरो हुँदै गएको समयमा हामीलाई जोड्ने विविध प्रविधिहरु पनि आएका छन् । यसको सहायताले हामी पहिलेभन्दा केही बढी नै सचेत भएका छौं भने हामीमा चेतनाको वृिद्ध पनि सापेक्षित रुपमा भएको अनुमान गर्न सकिन्छ । विगतको त्यो हाम्रा सन्तानहरुको ज्यानको आहुति र दूरदशा, देशको सम्पत्तिमाथिको चरम दोहन र त्यो विध्वंसकारी ध्वस्तताका बाबजुद आउँदै गरेको प्रतिनिधिसभाको निर्वाचनको सँघारमा हामी नेपाली उभिएका छौं । एकातिर विगतका ती क्रुर घटनाले हामी नेपाली सबै पीडामा छौं भने अर्कोतिर भोलिको दिनमा देशको सार्वभौमिकता र अस्तित्व जोगाउने प्रवृत्तिका प्रतिनिधिहरु चयन गर्नुपर्ने निर्णायक घडीमा छौं । हाम्रो मानव चेतनाले एउटा पीडा भुल्न सक्दैन भने अर्को पीडा थप्न पनि चाहँदैन । त्यसैले भोलिका दिनमा हामी नेपाली हौं भनी बाँच्न र हाम्रो भावी पुस्ताको लागि हाम्रो मातृभूमि साँच्न पनि हामीले यो चुनावमा मतदान गर्दा विवेक पु¥याउनुपर्नेछ ।
मतदान गर्ने दिनअगावै हामीले एकचित्त भएर आफ्नो मनसँग मन्थन गर्नुपर्नेछ कि हिजो हाम्रो सन्तान कसका कारण मरे ? हिजो हाम्रो राष्ट्रिय सम्पदा र राष्ट्यि सम्पत्तिहरु कसको इच्छाले केका लागि जलाइए ? किन हाम्रा सन्तानलाई उमेर समूहमा विभाजित गरियो ? कसरी भ्रष्टचारको विरोधको विषय सरकार परिवर्तन र पुस्तान्तरको विषयमा जोडिए ? अब के ती हाम्रा सन्तानलाई कोही कसैले फिर्ता ल्याउन सक्छ ? जलाइएका ती हाम्रा सम्पदाको क्षतिपूर्ति देशले कोबाट पाउँछ ? अनि भोलिको दिनमा हाम्रो सम्पत्तिको कर मिनाहा हुन्छ ? हाम्रो देशको स्वतन्त्रता र स्वाधीनताको जिम्मा कसले लिन्छ ? यी र यस्ता गम्भीर विषयमा मनन गरेर मात्र मत जाहेर गर्नुपर्ने हुन्छ । हिजोको जस्तो एकोहोरो भएर मिडियाको हुइयाँमा लागेर मत जाहेर ग¥यौँ भने हामी आम नेपालीले आफ्नो मातृभूमिको अपमान गर्नेछौं । विचार गरौं, किन हामीलाई हाम्रा सन्तानबाट अलग्याइँदै छ ? किन अभिभावक र सन्तानका बीचमा सर्त सृजना गर्न दबाब दिइँदै छ ? किन हामी आफैं आफ्नो मत जाहेर गर्ने हैसियत नराख्ने ? किन सधंँ अरुको लहैलहैमा चल्ने ? किन हामीलाई शिक्षित हुँदा पनि विवेक शून्य बनाइँदै छ ? यो कतै विदेशीको षड्यन्त्रात्मक चाल त हुन सक्दैन ? सबैले सोचौं, हामी आमाबाबुले अनि हाम्रा सन्तानले पनि विचार गर्नुपर्छ । हामीबीचको अनावश्यक खाडल हामीले पुर्न सकेनौं भने हाम्रो परिवार फुट्नेछ, हाम्रो समाज टुक्रनेछ अनि हाम्रो देश लुटिनेछ ।
त्यसैले हरेक दल तथा संगठनमा पनि आफ्नो सिद्धान्भन्दा माथि देश रहनुपर्छ । देशको स्वाभिमान जोगाउने दलको उद्देश्य हुनुपर्छ । यो विषम परिस्थितिमा हिजो अरुका कारण ज्यान गुमाएका हाम्रा सन्तानको सपना साकार पार्न भ्रष्टाचार रोक्ने प्रतिबद्धता सबै दलले आफ्नो घोषणापत्रमा अनिवार्य एजेन्डामा राख्नुपर्छ । देशको पुनर्निर्माण र स्वाधीनताका लागि कटिबद्धता र प्रतिबद्धता हरेक दलको साझा एजेन्डा हुनुपर्छ । देशको अधिकतम हित र जनताको शान्ति–सुरक्षा एवं आधारभूत आवश्यकताको हकमा दलको धारणा स्पष्ट हुनुपर्दछ । हामीले आफ्नो मतको हतियार देखाई वैचारिक दबाब सृजना गर्नुपर्ने स्थिति छ । आज प्रविधिको दुरुप्रयोग हुँदै छ ।
निर्वाचनको समयमा मात्र हैन, हरेक समय आत्मअनुशासनलाई मूल्याङ्कन गर्नु जरुरी हुन्छ । हरेक दलले पनि आफू र आफ्ना उम्मेदवार जिताउने मात्र ध्येय राखी एक–अर्काका विरुद्ध गैरजिम्मेवार र गैरअनुशासित तरिकाबाट प्रस्तुत हुनु पनि प्रजातान्त्रिक मर्यादा विपरीत हो । अनुशासन सबैलाई सँगै लान सक्ने उपाय हो । जित्नका लागि वा हराउनका लागि विपक्षीलाई उग्ररुपमा गाली गर्नु वा अनेक तवरले आक्षेप लगाउनु वा भ्रामक प्रचारप्रसार गर्नु जरुरी छैन । आजसम्मको इतिहासमा गालीले कसैलाई पछार्न सकेको पाइँदैन । राजनीति त झन् त्यस्तो मैदान हो, जहाँ विनम्रताले सबैलाई समेट्नुपर्छ ।
निर्वाचनको समयमा मात्र हैन, हरेक समय आत्मअनुशासनलाई मूल्याङ्कन गर्नु जरुरी हुन्छ । हरेक दलले पनि आफू र आफ्ना उम्मेदवार जिताउने मात्र ध्येय राखी एक–अर्काका विरुद्ध गैरजिम्मेवार र गैरअनुशासित तरिकाबाट प्रस्तुत हुनु पनि प्रजातान्त्रिक मर्यादा विपरीत हो । अनुशासन सबैलाई सँगै लान सक्ने उपाय हो । जित्नका लागि वा हराउनका लागि विपक्षीलाई उग्ररुपमा गाली गर्नु वा अनेक तवरले आक्षेप लगाउनु वा भ्रामक प्रचारप्रसार गर्नु जरुरी छैन । आजसम्मको इतिहासमा गालीले कसैलाई पछार्न सकेको पाइँदैन । राजनीति त झन् त्यस्तो मैदान हो, जहाँ विनम्रताले सबैलाई समेट्नुपर्छ ।
त्यसैले हरेक नेतृत्वले पनि आफूलाई आत्ममूल्याङ्कन गर्दै आचरणमा सुधार ल्याउनु जरुरी देखिन्छ । यसका साथै आफ्ना सदस्यहरु तथा कार्यकर्ताहरुलाई सबभन्दा पहिले राष्ट्रियताको महत्व बुझाई देशप्रतिको प्रेम मनमस्तिष्कमा भरिदिन सक्नुपर्छ । अब कुरा गरौं युवा पुस्ता वा जेनजेड पुस्ताको । तपाईं सबै हाम्रा सन्तान हुनुहुन्छ । तपाईंहरुको उज्ज्वल भविष्य हाम्रो लक्ष्य हो । त्यसैले तपाईंहरु पनि प्राविधिक रुपमै एआईसँगै सोधेर भए पनि मनन गर्नुस् कि यो उमेरगत समूह निर्धारण किन, कसरी, केका लागि भएको रहेछ ? सो कुरामा स्पष्ट हुनु जरुरी छ भने स्पष्ट भएकाहरुले नभएकालाई बुझाउनुपर्ने आजको प्रमुख कार्य रहेको छ । ठीक छ, युवा पुस्ता पनि राजनीतिमा आउनुपर्छ ।
यसमा दुईमत छैन तर कसरी शुरुवात गर्ने ? सो कुराको ज्ञान हुनु जरुरी छ । नेतृत्व क्षमता बनाउनु र बुझ्नु जरुरी छ । हामी अघिल्लो पुस्ताको दोष के हो ? हामीले हुर्काइ–बढाइ, पढाइ गर्नु–गराउनु हाम्रो कसुर हो ? किन हाम्रो कुरा तपाईंहरुले सुन्नुहुन्न ? हामी अघिल्लो पुस्ता असल संस्कारसहितको असल सन्तान चाहन्छौं, जसलाई भोलिका दिनमा देश र जनताको हितका लागि जिम्मा लगाउन पाइयोस् तर यस्तो वातावरण किन बनिराखेको छैन ? एकपटक धैर्यताका साथ सोचौं, कसले गर्दै छ यो नाटकको मञ्चन ? किन हामी पछाडि लागेका छौं ? क्षणिक अवसरको लागि पछि लाग्नेले के हामीलाई भविष्यमा साथ देलान् त ? यो निकै गम्भीर एवं विचारणीय प्रश्न हो । यसमा हाम्रा सन्तानहरु जेनजेड पुस्ताले मनन गर्नुपर्छ । यी प्रश्नहरु तपाईंहरुले हरेक दलका नेतृत्वसँग उठाउन सक्नुपर्छ र सोको जवाफ ती सबै प्रतिनिधि दलका मुख्य नेतृत्वकर्ताले आम जनसमुदायलाई खुलेयाम दिनुपर्छ अनि मात्र हाम्रो मत सही व्यक्ति छनौटका लागि प्रयोग हुनुपर्छ । भुल्नै नहुने कुरा के हो भने, देश रहेमा मात्र हामी रहन्छौं । त्यसैले हाम्रो मत, देश र जनताको सर्वोत्तम हितका खातिर प्रयोग गरौं ।











प्रतिक्रिया