निर्वाचनको मुखमा तस्करी मौलायो, ‘सेटिङ’को आशंका

सिमानादेखि विमानस्थलसम्म सुन र उपभोग्य वस्तुको अवैध ओसारपसार – जिम्मेवार निकाय मौन


–सीमाक्षेत्रमा संयुक्त निगरानी, विमानस्थलमा विशेष जाँच टोली र उच्चस्तरीय छानबिनको माग

काठमाडौं।

निर्वाचन नजिकिँदै जाँदा देशका विभिन्न सीमाक्षेत्रमा तस्करी गतिविधि तीव्र रूपमा बढेको पाइएको छ । भारतीय तथा उत्तरी सिमानाका नाकाहरू हुँदै कपडा, खाद्यान्न र अन्य उपभोग्य वस्तुको अवैध आयात बढेको छ भने चीन र भारत दुवै तर्फबाट सुन तस्करी पुनः सक्रिय भएको स्थानीय र सुरक्षा स्रोतहरूले बताएका छन् ।

यसअघि पनि निर्वाचनको समयलाई तस्करहरूले ‘सुनौलो अवसर’का रूपमा प्रयोग गर्दै आएका उदाहरणहरू छन् । यसपटक पनि सुरक्षाकर्मी र सरकारी कर्मचारीहरू निर्वाचन तयारीमा व्यस्त भएको मौका छोपेर संगठित गिरोह सक्रिय बनेको आरोप स्थानीयवासीको छ । सीमावर्ती बजारमा सामान्य समयमा भन्दा अस्वाभाविक रूपमा सस्तो मूल्यमा कपडा र अन्य सामग्री उपलब्ध हुनुले अवैध भित्र्याइ बढेको संकेत दिएको व्यापारीहरू बताउँछन् । सीमा क्षेत्रबाट लत्ताकपडा, सवारी साधनका पाटपुर्जाहरू, दैनिक उपभोग्य वस्तुहरू, कृषिजन्य वस्तुहरू, विद्युतीय तथा कृषिजन्य वस्तुहरू, औषधि तथा संवेदनशील वस्तुहरूको तस्करी भइरहेको बताइएको छ ।

स्रोतका अनुसार पछिल्ला हप्तामा ठूलो परिमाणको तस्करीको सुन उत्तरी नाका हुँदै राजधानी काठमाडौंमा ल्याइएको र भारततर्फ तस्करी गरिएको बताइएको छ । अझ गम्भीर पक्ष भनेको विमानस्थल नै सुन तस्करीको मार्ग बन्न थालेको दाबी स्रोतको छ । विमानस्थलबाटै सुन ओसारपसार भइरहेको सूचनाहरू आए पनि सम्बन्धित निकायहरूले प्रभावकारी अनुसन्धान अघि बढाउन सकेका छैनन् । ‘सामान्य अवस्थामा कडाइ हुने ठाउँहरू निर्वाचनको बेला कमजोर बन्छन् । त्यसलाई संगठित समूहले योजनाबद्ध रूपमा प्रयोग गर्छन्’ –एक अधिकारीले भने ।

स्थानीयवासी र व्यवसायीहरूका अनुसार प्रहरी र प्रशासन निर्वाचन व्यवस्थापनमा केन्द्रित हुँदा सीमाक्षेत्रमा निगरानी कमजोर भएको छ । तर, निगरानीमात्र कमजोर नभई कतिपय ठाउँमा ‘सेटिङ’ नै भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । बारम्बार सूचना आउँदा पनि ठूला कारबाही नहुनु र जिम्मेवार निकायको मौनता शंकास्पद मानिएको छ । भन्सार कार्यालय, भन्सार विभाग र सम्बन्धित सुरक्षा निकायले तस्करी रोक्न प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । तस्करी रोक्न राजस्व अनुसन्धान विभागले पनि सक्रियता देखाउन नसकेको बताइएको छ ।

अर्थ मन्त्रालयका अधिकारीहरूले समेत यस विषयमा संवेदनशीलता अपनाउन सकेका छैनन् । अर्थविद्हरूका अनुसार निर्वाचनको बेला हुने यस्तो तस्करीले राज्यको राजस्वमा ठूलो क्षति पु¥याउनुका साथै वैध व्यवसाय धराशयी बनाउँछ । सस्तो अवैध सामान बजारमा छिर्दा स्थानीय उद्योग र व्यापारी सबैभन्दा बढी प्रभावित हुने गरेका छन् ।

व्यवसायी र स्थानीय तहका प्रतिनिधिहरूले सीमाक्षेत्रमा संयुक्त निगरानी, विमानस्थलमा विशेष जाँच टोली र उच्चस्तरीय छानबिनको माग गरेका छन् । ‘निर्वाचन लोकतन्त्रको उत्सव हो, तर तस्करका लागि कमाइको मौसम बन्नु हुँदैन’ –एक उद्योगीले भने । निर्वाचन नजिकिँदै जाँदा तस्करी नियन्त्रणमा तत्काल कदम नचालिए राज्यको राजस्व, बजार व्यवस्था र सुरक्षा प्रणाली तीनै क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ ।