ललितपुर।
७० वर्षीया रुक्मणी महर्जनले आफ्नो छोरा निरोजको नागरिकता दिलाउन ललितपुरका विभिन्न कार्यालयहरूमा झन्डै ५० पटक धाए। ३० पटक जिल्ला प्रशासन कार्यालय पुग्दा पनि नागरिकता दिलाउन नसकेको दुःखद् अनुभव गरिन्। २४ वर्षको उमेरमा नागरिकता पाउनुपर्ने छोरा निरोजको ३६ वर्ष पुगेपछि बल्ल आमाको नामबाट नागरिकता प्राप्त गर्ने सपना साकार भयो।
रुक्मणीले भनिन् ‘ जीवनको ठूलो इच्छा पूरा भयो । ’ उनले २०६३ सालको नागरिकता ऐनको दोस्रो संशोधन र २०८२ को नियमावलीको कसरतमा ठूलो संघर्ष गरेपछि अन्ततः नागरिकता प्राप्त गर्न सफल भइन्।
‘ २०७२ र २०८० सालमा नागरिकता ऐन र नियमावलीका प्रक्रिया पुरा गर्दा पनि छोराले नागरिकता पाउन सकेका थिएनन्। किनभने म नेपाली हुँ, तर छोराले मेरो नामबाट नागरिकता पाउन नसक्ने गज्जबको स्थिति थियो।’ नागरिकता प्राप्तिका क्रममा रुक्मणीले भनिन्।
रुक्मणीका श्रीमानको २५ वर्षअघि मृत्यु भएको थियो। उनी एक्लैले छोराछोरीलाई हुर्काउँदै आएकी थिइन्। छोरीको विवाह भइसकेको थियो भने, निरोजलाई नागरिकता नपाउँदा उनी निरन्तर चिन्तित थिइन्। उनले आफूलाई चिन्ने सबैसँग छोराको नागरिकताको लागि पहल गर्न आग्रह गर्थिन्।
तर, २०८२ असोजमा नागरिकता ऐनको दोस्रो संशोधन र नयाँ नियमावली गत पुसमा स्वीकृत भएपछि रुक्मणीका लागि आशाको किरण देखियो। हप्तौं धाएर र प्रशासनको प्रक्रिया पुरा गरी सोमबार निरोजले नागरिकता पाएँ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईबाट नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो ।सो प्रमाणपत्र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको पहिलो वैवाहिक अंगीकृत नागरिकता थियो।
नागरिकता प्राप्त गर्दा आमा रुक्मणीको अनुहारमा संघर्ष पछि प्राप्त खुसी स्पष्ट देखिन्थ्यो। निरोजले अब प्यान नम्बर लिने, ड्राइभिङ लाइसेन्स निकाल्ने र कम्प्युटर सिक्ने इच्छा व्यक्त गरे। १२ वर्षको प्रतीक्षा र कानुनी जटिलतासँग संघर्ष गर्दै प्राप्त यो नागरिकता उनीहरूको जीवनमा नयाँ अध्यायको सुरुवात बन्यो। नागरिकता ऐन दोस्रो संशोधनपछि निरोज जस्ता झन्डै १७ लाखले नागरिकता पाउने सक्ने आधार तयार भएको गृह मन्त्रालयलका अधिकारीहरु बताउँछन्।











प्रतिक्रिया