काठमाडौं।
जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ।
सोमबार न्यायाधीश नितिश राईको एकल इजलासले मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै तत्काल फिर्ता गर्न नमिल्ने आदेश गरेको हो। अदालतले यस विषयमा सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै आवश्यक निर्णय लिने स्पष्ट पारेको छ।
यसअघि जिल्ला अदालत, रूपन्देहीले पनि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गर्दै सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई परिपत्र गरेकी थिइन्। सोही निर्णयका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो।
तर, अदालतले सर्वोच्च अदालतबाट यस सम्बन्धी अन्तिम निर्णय आएपछि मात्रै मुद्दा फिर्ता गर्ने–नगर्ने विषयमा टुंगो लगाइने आदेश दिएको छ।
लामिछानेविरुद्ध रूपन्देही, कास्की, काठमाडौं र चितवन जिल्ला अदालतहरूमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर छन्।











प्रतिक्रिया