चम्पादेवी बसपार्क नजिक सुन र नगद चोरी, दुई जना पक्राउ


काठमाडौं .

काठमाडौंको कीर्तिपुर नगरपालिका–४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको सूचनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आज अपराह्न करिब ४:४५ बजे चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले सोही क्षेत्रबाट दुई जनालाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका–८ स्थायी घर भई हाल कीर्तिपुर–४ बस्ने २६ वर्षीय भुवन प्रधान र जिल्ला रामेछाप मन्थली नगरपालिका–८ स्थायी घर भई ऐ. बस्ने १९ वर्षीया सुनिता बस्याल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूबाट नगद १ लाख ४८ हजार ४ सय ४९, चाँदीको ब्रास्लेट १ थान, सुनको टप १ जोर, सानो तिलहरी १ थान, लकेट चोकर १ थान, सिक्री ३ थान, औंठी २ थान, माईली तिलहरी (पोते काटेको) १ थान, माईली तिलहरी (पोतेसहित) १ थान, नौगेडी १ थान, मोबाइल ३ थान तथा पगालिएको सुनको डल्लोजस्तो देखिने वस्तु १ थान बरामद गरिएको छ।

त्यसैगरी बा.प्र. ०२–०३६ प ६७६५ नम्बरको KTM DUKE मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।