गुर्जुधाराबाट ५ केजी गाँजा र ट्रामाडोलसहित ५६ वर्षीया महिला पक्राउ


काठमाडौं।

जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारास्थित एक घरमा डेरा गरी बस्दै आएकी ५६ वर्षीया महिला लागुऔषधसहित पक्राउ परेकी छन्।

प्रहरीका अनुसार आज अपराह्न करिब १२:३० बजेतिर उक्त स्थानमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले छापा मारेको थियो।

खानतलासीका क्रममा जिल्ला मकवानपुर थाहा नगरपालिका–१२ स्थायी घर भई हाल गुर्जुधारामा डेरा गरी बस्ने वर्ष ५६ की संच माया तामाङको कोठाबाट लुकाइछिपाइ राखिएको अवस्थामा करिब ५ केजी गाँजाको धुलोजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी “Tramadol Capsules IP” लेखिएका २५ पत्ता क्याप्सुल र नगद रु. २ लाख ६२ हजार ६ सय ५० समेत फेला परेको छ।

बरामद गरिएको लागुऔषध र नगदसहित तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत अघि बढाएको बताएको छ।