ललितपुर–३: डा. पन्तको शिक्षा, स्वास्थ्य र सुशासन प्राथमिकता


ललितपुर ।

उज्यालो नेपाल पार्टीका तर्फबाट आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि ललितपुर क्षेत्र नं. ३ मा उम्मेदवार रहेका डा. विजय पन्त मेडिकल शिक्षा आन्दोलनदेखि जेन–जी आन्दोलनसम्मको अनुभव सुनाउँदै उनले अब जनस्वास्थ्य र जनजीविकाका सवाललाई संसद्मा उठाउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् ।

‘म मेडिकल शिक्षाको आन्दोलनदेखि जेन–जी आन्दोलनसम्म खटिएँको व्यक्ति हुँ । अब देशको स्वास्थ्यका आवाज सदनमा पु¥याउन उम्मेदवार बनेको छु,’ उनले भने । मतदातासँग छलफल गर्दै, सुझाव संकलन गर्दै आएका डा. पन्तले ललितपुर–३ लाई शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनमा नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिने बताएका छन् । सामुदायिक विद्यालयको सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, सबैले धान्न सक्ने र सबै ठाउँमा मान्य हुने शिक्षा प्रणाली विकासका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।

छात्रवृत्ति विस्तार, प्राविधिक शिक्षामा पहुँच वृद्धि र ललितपुर–३ लाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना पनि उनले अघि सारेका छन् । ‘शिक्षाको ज्योति हरेक घरमा बालौँ, व्यावहारिक ज्ञानले भविष्य उज्यालो पारौं’ भन्ने नारासहित उनले शिक्षा सुधारलाई प्राथमिकतामा राखेका छन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रलाई अर्को मुख्य एजेन्डा बनाएका उनले बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य जाँच तथा आधारभूत उपचार निःशुल्क गर्ने योजना प्रस्तुत गरेका छन् ।

उनले सामुदायिक स्वास्थ्य केन्द्रलाई दक्ष जनशक्ति र प्रविधियुक्त बनाउने, स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो व्यवस्थापनका लागि कोष स्थापना गर्ने र विशेषज्ञ सेवा उपलब्ध गराउन पहल गर्ने बताएका छन् ।

निजी स्वास्थ्य संस्थाबाट स्थानीय बासिन्दाले सहुलियतपूर्ण सेवा पाउने व्यवस्था मिलाउने तथा खानपान र जीवनशैली सुधार अभियान सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । रोजगारी सिर्जनाका लागि युवा–विद्यार्थीलाई उद्यमशीलतासँग जोड्ने, महिला तथा गृहणीलाई सीपमूलक तालिम प्रदान गर्ने र साना तथा मझौला उद्योगलाई लगानी सहजीकरण गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।

यसैगरी ललितपुर–३ लाई स्टार्टअप तथा डिजिटल हबका रूपमा विकास गर्दै स्थानीय सीप र उत्पादनको बजारीकरण गर्ने उनको लक्ष्य छ । ‘ललितपुर–३ को माटोमा उद्यमको बीज रोपौँ, युवाको सपना फुलाऔँ,’ उनले भने।
डा. पन्तले जनप्रतिनिधिको कामलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता गर्दै सार्वजनिक सेवा जनमैत्री, छरितो र पारदर्शी बनाउने, भ्रष्टाचारमुक्त क्षेत्र निर्माण गर्ने र सार्वजनिक सुनुवाइमार्फत् जनप्रतिनिधिको कार्यसम्पादनको मूल्यांकन गर्ने योजना उनले अघि सारेका छन् ।

ललितपुरको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्ने उनको योजना छ । परम्परागत सीप र संस्कृतिलाई पुस्तान्तरण गर्दै आर्थिक अवसरसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन् ।
स्वच्छ खानेपानीको न्यायिक वितरण, वैज्ञानिक ढल व्यवस्थापन, सुरक्षित सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिने उनको भनाइ छ।

पर्यावरण प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन, विपद् पूर्वतयारी र पैदलयात्री तथा असक्तमैत्री पूर्वाधार निर्माणमा जोड दिइने उनले बताए । साथै शहर र शहरोन्मुख क्षेत्र छुट्टाएर आवश्यकताअनुसार योजना छनोट गरिने योजना पनि उनले सार्वजनिक गरेका छन् ।