सन्दर्भ : सेना दिवस ! राष्ट्र निर्माणमा नेपाली सेनाको योगदान

564
Shares

नेपाली सेना आज केवल सुरक्षा निकाय मात्र होइन, राष्ट्र निर्माणको एक बलियो आधारस्तम्भका रूपमा स्थापित भइसकेको छ । अराजनीतिक चरित्र, अनुशासन, राष्ट्रिय निष्ठा र जनताप्रतिको उत्तरदायित्वका कारण नेपाली सेनाले आम नागरिकको भरोसायोग्य संस्था बन्न सफल भएको छ । राज्य कमजोर हुँदा, भौगोलिक चुनौती तीव्र हुँदा वा अन्य निकायहरू सीमित क्षमताका कारण अघि बढ्न नसक्दा, नेपाली सेना सधैँ अग्रपंक्तिमा देखिएको छ । यही निरन्तरताले सेनालाई राष्ट्रको सुरक्षा मात्र होइन, विकास र राष्ट्रिय एकताको महत्वपूर्ण कडी बनाएको छ ।

नेपालजस्तो भौगोलिक रूपमा विकट, पहाडी र पूर्वाधार विकासमा कठिन देशमा सडक, पुल र यातायात सञ्जाल निर्माण आफैंमा चुनौतीपूर्ण कार्य हो । दुर्गम पहाडी क्षेत्रलाई राजधानी र राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने राज्यको दीर्घकालीन आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न नेपाली सेनाले खेलेको भूमिका उल्लेखनीय मात्र होइन, ऐतिहासिक छ । रणनीतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएका सडक सञ्जाल निर्माणमा सेनाको योगदानले राज्यको पहुँच, सेवा प्रवाह र राष्ट्रिय एकतालाई मजबुत बनाएको छ ।

राज्यका अन्य निकायले जोखिम, भौगोलिक कठिनाइ वा सीमित स्रोतका कारण गर्न नसकेका कामहरू नेपाली सेनाले विगतदेखि आजसम्म निरन्तररूपमा सम्पन्न गर्दै आएको छ । हिजो ‘दुर्गम’ भनेर चिनिएका क्षेत्रहरू आज सडक सञ्जालमार्फत सुगम बन्दै जानुमा सेनाको परिश्रम, अनुशासन र प्रतिबद्धता स्पष्ट देखिन्छ । यो योगदान केवल भौतिक पूर्वाधारमा सीमित छैन, यसले सामाजिक, आर्थिक र राष्ट्रिय एकतामा समेत गहिरो प्रभाव पारेको छ ।

आधुनिक नेपाल निर्माणको वर्तमान चरणमा नेपाली सेनाको भूमिका झनै महत्वपूर्ण बनेको छ । मुलुकको सुरक्षा सुनिश्चित गर्नु त सेनाको मूल दायित्व हो नै, त्यससँगै विकास निर्माणमा प्रमुख सहयोगीका रूपमा सेनाको उपस्थितिले राज्यको क्षमतामा थप बल पु¥याएको छ । प्राकृतिक प्रकोप, महामारी, उद्धार तथा राहतका काममा सेनाले देखाएको तत्परता र मानवीय संवेदनशीलताले सेनालाई जनताको दुःख–सुखको साँचो साथीका रूपमा स्थापित गरेको छ ।

यस सन्दर्भमा नेपाली सेनाको अगुवाइमा निर्माण भइरहेको काठमाडौं–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) विशेष महत्वको परियोजना हो । यो आयोजना केवल सडक मात्र नभई मुलुकको आर्थिक रुपान्तरणसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय गौरवको परियोजना हो । निर्माण सम्पन्न भएपछि राजधानी काठमाडौं र तराई–मधेसबीचको दूरी, समय र लागत उल्लेखनीय रूपमा घट्नेछ । यसले व्यापार, उद्योग, पर्यटन र लगानीको वातावरणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । विश्लेषकहरूका अनुसार फास्ट ट्रयाकले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा समेत दीर्घकालीन प्रभाव पार्नेछ, जसले नेपाललाई आर्थिक विकासको अर्को चरणमा प्रवेश गराउने निश्चितजस्तै देखिन्छ ।

त्यसै गरी नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेका उत्तर–दक्षिण करिडोरहरू जस्तै– खाँदबारी–किमाथान्का (च्यम्ताङ–घोङघप्पा खण्ड) सडक, दार्चुला–टिंकर (तुसारपानी–टिंकर खण्ड), कर्णाली करिडोर (लालिबगर–दुल्लिकुन्ना र घाटपारी चौर–बद्रीगाउँ–भुक्काखोला खण्ड) र बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक नेपालको राष्ट्रिय सुरक्षा, व्यापारिक सम्भावना र छिमेकी मुलुकहरूसँगको सम्पर्क विस्तारका दृष्टिले अत्यन्तै महत्वपूर्ण छन् । यी करिडोरहरू सञ्चालनमा आएपछि नेपालले आन्तरिक रूपमा मात्र होइन, क्षेत्रीय स्तरमा समेत नयाँ अवसरहरू प्राप्त गर्नेछ ।

इतिहासतिर फर्केर हेर्दा नेपाली सेनाले पहिलोपटक वि.सं. २००६ बाट कान्ति लोकमार्गको निर्माणको शुरुवात गरेर दुर्गम क्षेत्रलाई राज्यको मूलधारसँग जोड्ने क्रममा ३२ वटा सडक खण्ड सम्पन्न गरिसकेको छ भने ४० भन्दा बढी स्थानमा बेलिब्रिज जडान गरिसकेको छ । यही अभियानको निरन्तरताका रूपमा आज कर्णालीजस्ता पिछडिएका क्षेत्रलाई राष्ट्रिय जीवनसँग जोड्ने कार्यमा पनि सेना सक्रिय देखिन्छ । कर्णालीलाई सडक, सञ्चार र सेवा–सुविधामार्फत मूलधारमा ल्याउने प्रयास केवल विकास परियोजना मात्र होइन, सामाजिक न्याय र समावेशी राष्ट्र निर्माणको अभ्यास पनि हो ।

राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा नेपाली सेनाको योगदान अतुलनीय छ । इतिहासका विभिन्न कालखण्डमा विदेशी हस्तक्षेप, आन्तरिक द्वन्द्व र अस्थिरताका बीच सेनाले राष्ट्रको सिमाना र स्वाभिमान जोगाउन खेलेको भूमिका स्मरणीय छ ।

शान्ति प्रक्रियापछि पनि सेनाले आफूलाई व्यावसायिक, समावेशी र आधुनिक संस्थाका रूपमा रूपान्तरण गर्दै लैजानु यसको संस्थागत परिपक्वताको उदाहरण हो । भूराजनीतिक दृष्टिले हेर्दा नेपाल आज एक संवेदनशील र जटिल मोडमा उभिएको छ । दुई उदाउँदा तथा प्रतिस्पर्धी शक्तिराष्ट्रहरू भारत र चीनको बीचमा अवस्थित नेपाल क्षेत्रीय शक्ति सन्तुलन, रणनीतिक चासो र विश्वव्यापी भू–राजनीतिक उतारचढावको प्रत्यक्ष प्रभावमा परेको छ । हिन्द–प्रशान्त रणनीति, बेल्ट एन्ड रोड इनिसिएटिभ, क्षेत्रीय सुरक्षा सहकार्य, आर्थिक कूटनीति र वैदेशिक प्रभाव विस्तारका प्रयासहरूले नेपालको रणनीतिक महत्व झनै बढाइदिएका छन् । यस्तो परिवेशमा मुलुकको सुरक्षा जिम्मेवारी बोकेको मुख्य संस्था नेपाली सेनाका लागि वर्तमान अवस्था चुनौती र अवसर दुवैका रूपमा देखिन्छ ।

चुनौतीको दृष्टिले हेर्दा, परम्परागत सैन्य खतरा मात्र होइन, अब नेपालले गैर–परम्परागत सुरक्षा चुनौतीहरू पनि सामना गर्नुपरेको छ । सीमासम्बन्धी संवेदनशीलता, साइबर सुरक्षा जोखिम, सूचना युद्ध, आन्तरिक अस्थिरता, वैदेशिक प्रभाव, संगठित अपराध, तस्करी तथा प्राकृतिक प्रकोपहरू राष्ट्रिय सुरक्षाका नयाँ आयाम बनेका छन् । यी सबै चुनौतीहरूलाई सम्बोधन गर्न नेपाली सेनाले आफ्नो रणनीति, क्षमता र दृष्टिकोणलाई समयानुकूल परिमार्जन गर्नुपर्ने अवस्था छ ।

तर यही अवस्था नेपाली सेनाका लागि अवसर पनि हो । सेनाले आफूलाई केवल सीमाको रक्षक नभई समग्र राष्ट्रिय सुरक्षाको बहुआयामिक संस्थाका रूपमा स्थापित गर्ने अवसर पाएको छ । आधुनिक प्रविधि, गुप्तचर क्षमता, साइबर सुरक्षा र रणनीतिक अध्ययनमा लगानी बढाउँदै सेनाले आफ्नो व्यावसायिकता अझ सुदृढ गर्न सक्छ । भूराजनीतिक संवेदनशीलताका बीच नेपालले अवलम्बन गर्दै आएको सन्तुलित परराष्ट्र नीति सफल बनाउन सेनाको अराजनीतिक, अनुशासित र व्यावसायिक भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।

यस्तो अवस्थामा मुलुकको सुरक्षाका लागि नेपाली सेनाको योगदान स्पष्ट र सन्तुलित हुनुपर्छ । सेनाले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै कुनै पनि बाह्य शक्ति प्रतिस्पर्धाको उपकरण नबन्ने स्पष्ट नीति अवलम्बन गर्नुपर्छ । सीमाको सुरक्षा, रणनीतिक पूर्वाधारको संरक्षण, विपद् व्यवस्थापन र आन्तरिक स्थायित्व कायम राख्ने काममा सेनाको सक्रियता अझ प्रभावकारी हुन आवश्यक छ ।

साथै, नागरिक–सैन्य सम्बन्धलाई मजबुत बनाउँदै जनताको भरोसा कायम राख्नु पनि दीर्घकालीन सुरक्षाको आधार हो ।
अन्ततः भूराजनीतिक दबाब र अनिश्चितताका बीच नेपाली सेनाले राष्ट्रिय एकता, सार्वभौमिकता र स्थायित्वको मेरुदण्डका रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । विवेकपूर्ण रणनीति, व्यावसायिक क्षमता र राष्ट्रिय हितप्रतिको अडानमार्फत नेपाली सेनाले वर्तमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्छ । यही सन्तुलित र दूरदर्शी भूमिकाले नेपालको सुरक्षा मात्र होइन,समग्र राष्ट्र निर्माण प्रक्रियालाई पनि सुरक्षित र दिगो बनाउनेछ ।

नेपाली सेनाले २६३औं वार्षिकोत्सव तथा शिवरात्रि पर्व मनाउँदै गर्दा यसको गौरवपूर्ण इतिहास, वर्तमान योगदान र भविष्यको भूमिकाको मूल्यांकन गर्ने अवसर आएको छ । सेनाको योगदानलाई चिरस्थायी बनाउन केही महत्वपूर्ण पक्षमा ध्यान दिनु आवश्यक छ । पहिलो, सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न आधुनिक तालिम, प्रविधि र स्रोत–साधनमा निरन्तर लगानी आवश्यक छ ।

दोस्रो, सेनालाई विकास निर्माणमा खटाउँदा स्पष्ट नीति, पारदर्शिता र नागरिक–सैन्य सहकार्यको ढाँचा मजबुत बनाउनुपर्छ । तेस्रो, सेनाको अराजनीतिक चरित्र जोगाउन सबै अंगहरूले राजनीतिक हस्तक्षेपबाट सेनालाई पूर्णरूपमा निष्पक्ष राख्नुपर्दछ । त्यसै गरी सेनाका योगदानहरूलाई दस्तावेजीकरण, अनुसन्धान र सार्वजनिक बहसको विषय बनाउनु पनि आवश्यक छ । यसले नयाँ पुस्तालाई सेनाको भूमिकाबारे जानकारी दिनुका साथै राष्ट्रिय एकता र राष्ट्रप्रतिको जिम्मेवारीबोध बलियो बनाउनेछ । सेनाका जवानहरूको मनोबल, कल्याण र पारिवारिक सुरक्षामा ध्यान दिनु पनि दीर्घकालीन रूपमा संस्थागत स्थायित्वका लागि अपरिहार्य छ ।

नेपाली सेना राष्ट्रको सुरक्षा कवच मात्र नभई विकास, एकता र विश्वासको प्रतीक बनिसकेको छ । जनताको मन जित्दै, दुर्गमलाई सुगम बनाउँदै र राष्ट्रलाई आधुनिकताको दिशामा अघि बढाउँदै आएको सेनाको योगदानको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो । राष्ट्र निर्माणको यात्रामा नेपाली सेनाले खेलेको भूमिका इतिहासमा मात्र होइन, भविष्यमा पनि उत्तिकै उज्यालो रहने विश्वास गर्न सकिन्छ ।