निस्केन कक्षा १२ को परीक्षा तालिका, एसईई प्रश्नपत्र छपाइमा ढिलाइ

1.88k
Shares

गम्भीर लापरबाही गर्दा मन्त्रालयले केही नगरेको कर्मचारीको गुनासो

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल घुमघाममै व्यस्त रहेका कारण हिजो फागुन २ गते कक्षा १२ को परीक्षा तालिका प्रकाशित हुन सकेन । उहाँकै कारण माध्यमिक शिक्षा परीक्षा(एसईई)को प्रश्नपत्र छपाइमा पनि बिलम्ब भएको छ ।

बोर्डको वार्षिक कार्यतालिकामा फागुन २ गते कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने र वैशाख ११ मा परीक्षा सञ्चालन भएर साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने उल्लेख छ । बोर्डका सदस्यसचिव अर्याल शुक्रवारसम्म धनगढीको कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव चुडामणि पौडेलले शुक्रवार परीक्षातालिका निकाल्नुपर्ने विषयमा सोधखोज गरेपछि सदस्यसचिव अर्याल कार्यक्रम छोट्याएर काठमाडौं फर्किनुभएको छ ।

उच्चस्रोतका अनुसार सामान्य कार्यक्रममा पनि उपाध्यक्षलाई जानकारी नै नदिई आफ्नो काज आफैं स्वीकृत गरेर सुदूरपश्चिममा प्राविधिक विद्यालयको तालिममा पुग्नुभएको थियो । स्रोतका अनुसार सदस्यसचिव अर्याल माघ महिनाभर करिब १५ दिन पनि कार्यलयमा हाजिर हुनुभएको छैन । माघमा अर्याल हेटौंडा, पोखरा, नुवाकोटलगायत जिल्ला दौडाहामा पुग्नुभएको थियो । शिक्षासचिव पौडेलले परीक्षातालिका र कक्षा १० को प्रश्नपत्र छपाइ बिलम्ब भएको विषय सदस्यसचिवलाई जानकारी गराउनासाथ झस्किएर धनगढीबाट काठमाडौं फर्किनुभएको हो ।

स्रोतका अनुसार कक्षा १०को प्र्रश्नपत्र छाप्ने विषयमा सदस्यसचिवले निर्णय गर्नुपर्छ । बोर्डलाई जानकारी दिएरमात्र कक्षा १० का परीक्षा नियन्त्रक जनक शिक्षाको सुरक्षण मुद्रणालयमा प्रवेश गर्नुपर्छ । सोही विषयमा कक्षा १०का नियन्त्रकले जानकारी गराउँदा समेत सदस्यसचिव अर्यालले बेवास्ता गरेको बुझिएको छ । यो वर्षको एसईई परीक्षा चैत १९ बाट सञ्चालन हुनेछ । परीक्षा सुरु हुन करिब १५ दिनअघि प्रश्नपत्र छपाइ गरिसक्नुपर्छ । सदस्यसचिवकै कारण प्रश्नपत्र छपाइ रोकिएको छ । बोर्ड स्रोतले भन्यो– ‘के गर्ने उहाँ त घुमघाममै व्यस्त हुनुहुन्छ । अन्य सहसचिवलाई खटाएर हुने काममा पनि आफैं कुदिरहनुभएको छ । बोर्डमा रमाकान्त तिवारी, जयन्ती सत्याल, भाष्करदत्त पन्त र कृष्णप्रसाद शर्मा गरी ४ सहसचिव छन् । यस्ता कार्यक्रममा उहाँहरूलाई पठाएपछि हुन्छ नि । भत्ता खान र डुल्नकै लागि उहाँ एक्लै कुदिरहनुभएको छ ।’

सदस्यसचिव अर्यालले महाशाखाको जिम्मेवारी पाएका सहसचिवलाई हालसम्म कुनै पनि अधिकार दिनुभएको छैन । पछिल्लो समय स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने कक्षा ८ को प्रश्नपत्र स्तरीकरण गरी ‘प्रश्न बैंक’ निर्माण गर्ने विषयमा छलफल गर्न सदस्य सचिव अर्याल विभिन्न प्रदेशमा कुदिरहनुभएको छ ।

प्रश्नपत्र स्तरीकरण गरी प्रश्न बैंक स्थापना गर्न विदेशी बैंकको सहयोग आएको हो । काठमाडौं महानगरलगायत अधिकांश स्थानीय तहले आफ्नो अधिकार हस्तक्षेप गरेको विषय उठान गरिरहेको अवस्थामा एसियाली विकास बैंकको बजेट सक्न बोर्डको सदस्य सचिवको टोली देश दौडाहामा लागेको छ । सदस्य सचिव र केही विज्ञले मात्र उक्त रकम सदुपयोग गरिरहेको टिप्पणी गर्दै उच्चस्रोतले भन्यो –‘उहाले बोर्डमा प्रश्नपत्र निर्माण गर्ने विज्ञलाई बेवास्ता गरी आफ्ना निकटलाई मात्र प्रयोग गरिरहनुभएको छ ।’

सदस्यसचिव अर्यालको कार्यकाल सकिन करिब एक वर्षमात्र बाँकी छ । उहाँका कार्यकालमा परीक्षा सुधार गर्ने खासै काम हुन सकेको छैन । उहाँ तालिमको नाममा देशब्यापी भ्रमण मात्रै व्यस्त रहेको गुनासो चुलिएको छ ।
परीक्षा तालिका ढिलाइ, कक्षा १०को प्रश्नपत्र छपाइलगायतका विषयमा उपाध्यक्ष एवं शिक्षा सचिव पौडेलले अर्यालसँग जानकारी लिने तयारीमा रहेका शिक्षा सचिव पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तालिकाअनुसार रुटिन ननिस्केको विषयमा सदस्यसचिवलाई सोध्नेछु । प्रश्नपत्र छपाइ गर्ने विषयका निर्णय भए नभएको विषयमा जानकारी लिनेछु ।’

कर्मचारी वृत्तमा पनि बोर्डमा अध्यक्ष नभएको मौका छोपेर सदस्यसचिव अर्यालले मनपरी गरिरहेको गुनासो छ ।