श्वासप्रश्वासका बिरामीलाई राहत: ललितपुरको मानभवनमा ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालनमा

विशेषज्ञ चिकित्सकको टोलीद्वारा एउटै छानामुनि बहुआयामिक उपचार सेवा सुरु

0
Shares

काठमाडौं

 नेपालमा दिनप्रतिदिन बढ्दो वायु प्रदूषण र बदलिँदो जीवनशैलीका कारण स्वासप्रश्वास (छाती) सम्बन्धी समस्या एक गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको छ। यसै सन्दर्भमा, श्वासप्रश्वासका बिरामीहरूलाई एकै स्थानबाट विशेषज्ञ, गुणस्तरीय र सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले ललितपुरको मानभवनमा ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालनमा आएको छ।

नेपालमा स्वासप्रश्वास रोगका लागि मात्र पूर्ण रूपमा समर्पित र बहुआयामिक सेवा दिने छुट्टै केन्द्रको अभाव खट्किरहेका बेला यस सेन्टरको स्थापनाले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष करोडौँ मानिस सिओपीडी, दम, निमोनिया र क्षयरोग जस्ता समस्याबाट ग्रसित छन्। नेपालको तथ्याङ्क झन् चिन्ताजनक छ। अध्ययनहरूका अनुसार नेपालमा करिब १० देखि १२ प्रतिशत वयस्क जनसंख्या कुनै न कुनै प्रकारको दीर्घकालीन स्वासप्रश्वास समस्याबाट पीडित छन्। कुल मृत्युको झण्डै ९–१० प्रतिशत हिस्सा सिओपीडी लगायतका फोक्सो सम्बन्धी रोगका कारण हुने गरेको सेन्टरका अध्यक्ष मधुसुदन घिमिरेले जानकारी गराउनुभयो ।

विशेष गरी काठमाडौँ उपत्यकाको उच्च वायु प्रदूषण, सवारी साधनको धुँवा र सुर्तीजन्य पदार्थको सेवनले गर्दा युवा तथा बालबालिकाहरूमा समेत दम र एलर्जीको समस्या तीव्र रूपमा बढिरहेको छ। यति मात्र नभई, कोभिड–१९ पछि धेरै व्यक्तिमा ‘लङ कोभिड’का लक्षणहरू जस्तै– सास फेर्न गाह्रो हुने र फोक्सोको कार्यक्षमता घट्ने समस्या देखिएकाले पनि विशेषज्ञ उपचार केन्द्रको आवश्यकता महसुस गरिएको छातीरोग बिशेषज्ञ डा. राजु पंगेनीले बताउनुभयो । उहाँले बिश्होवमा ४० करोड दमका बिरामी रहेका र बर्षेनी ४० लाखको मृत्यु हुने गर्छ जसमा ९० प्रतिशत मृत्यु बिकासोन्मुक मुलुलुकमा हुन्छ भन्नुभयो ।

सोही अवसरमा ललितपुर महानगरपालिका वडा न. १३ का वडा अध्यक्ष गणेश के.सी.ले सेन्टरको उद्घाटन गर्दै देशको आवश्यकता अनुसार खुलेको सेन्टरको सेवा सर्वसुलभ होस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

नेशनल चेष्ट सेन्टरले वरिष्ठ छाती रोग विशेषज्ञहरूको प्रत्यक्ष रेखदेखमा अत्याधुनिक प्रविधिमार्फत सेवा प्रदान गरिरहेको छ। सेन्टरमा उपलब्ध मुख्य सेवाहरू निम्न छन्:

फोक्सोको कार्यक्षमता परीक्षण  र डिजिटल एक्स–रे।

एलर्जी, दम, सिओपीडी र क्षयरोगको समग्र उपचार।

कोभिड पश्चात फोक्सो परीक्षण क्लिनिक ।धूम्रपान त्यागका लागि विशेष परामर्श सेवा।

अत्याधुनिक प्रयोगशाला र आफ्नै फार्मेसीको सुविधा।

“हाम्रो उद्देश्य केवल बिरामीको उपचार गर्नु मात्र होइन, बरु स्वासप्रश्वास रोगको रोकथामका लागि जनचेतना जगाउनु पनि हो,” सेन्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सेन्टरले विद्यालय, कलेज र समुदाय स्तरमा प्रदूषणबाट जोगिने र सुर्तीजन्य पदार्थ त्याग्ने सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्ने लक्ष्य लिएको छ।

सेन्टरले “रोकथाम नै उपचारभन्दा उत्तम” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै बिरामीको समय र खर्च बचत हुने गरी एउटै छानामुनि सम्पूर्ण परीक्षण र उपचारको प्रबन्ध मिलाएको छ। मानभवनस्थित यो केन्द्रले उपत्यकाका साथै देशभरका बिरामीहरूलाई विशेषज्ञ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

समयमै पहिचान र उपचार सुरु गरे फोक्सोको गम्भीर जटिलताबाट बच्न सकिने हुनाले शंकास्पद लक्षण देखिए तुरुन्त विशेषज्ञको सल्लाह लिन सेन्टरले सबैमा आग्रह गरेको छ।