प्रगतिवाद र नारीवाद’माथि साहित्य सन्ध्याको ४६३औँ शृङ्खलामा विमर्श, विशेष कविगोष्ठी सम्पन्न


काठमाडौं ।

साहित्य सन्ध्याको नियमित मासिक ४६३औँ शृङ्खलामा ‘प्रगतिवाद र नारीवाद’ विषयमा विस्तृत विचार–विमर्शसहित विशेष कविगोष्ठी कार्यक्रम सम्पन्न भएको छ। फागुन २ गते शनिबार अपराह्न १ बजे आरआर क्याम्पस, प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा साहित्यकार, समालोचक तथा सर्जकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा कोषाध्यक्ष गोपालकुमार मैनेलीको सञ्चालनमा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा समालोचक डा. विनु शर्मा उपस्थित रहनुभएको थियो भने अतिथिहरूमा रामबहादुर पहाडी, नर्मदेश्वरी सत्याल, डा. गोविन्दप्रसाद आचार्य, रूपक अलङ्कार, पोषरमण चापागाईं, गायत्रीकुमार चापागाईं, महेशराज खरेल, ओमप्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो।

प्रगतिवाद–नारीवादबीचको सम्बन्ध र बहस

विशेष अतिथि डा. विनु शर्माले ‘प्रगतिवाद र नारीवाद’ विषयमा अवधारणात्मक तथा ऐतिहासिक पृष्ठभूमिसहित धारणा राख्नुभयो। उहाँले वर्तमान समयमा प्रगतिवाद र नारीवादबीच समन्वयको आवश्यकता औँल्याउँदै वर्गमुक्तिसँगै महिलामुक्ति सम्भव हुने मार्क्सवादी दृष्टिकोण प्रस्तुत गर्नुभयो।

उहाँका अनुसार प्रगतिवाद समाजवादी दर्शनमा आधारित दृष्टिकोण हो, जसले समाजका उत्पीडित वर्गको मुक्ति र समतामूलक समाजको वकालत गर्छ। नारीवादले महिलालाई केन्द्रमा राखेर पितृसत्तात्मक संरचनाबाट सिर्जित उत्पीडन, विभेद र असमानताको विरोध गर्दै महिलामुक्तिको पक्षमा आवाज उठाउँछ।

डा. शर्माले नारीवादी आन्दोलनका विभिन्न चरणबारे पनि चर्चा गर्नुभयो। सन् १९६० सम्मको पहिलो चरणमा महिलाका आधारभूत मानवअधिकारको खोजी भएको, १९६० देखि १९८० सम्म दोस्रो चरणमा महिला अधिकार र प्रकाशनका सवालहरू उठाइएको तथा त्यसपछि महिला शरीर, लैङ्गिक पहिचान र भाषिक विभेदविरुद्ध आवाज बुलन्द भएको उल्लेख गर्नुभयो। पछिल्लो समय सामाजिक सञ्जालमार्फत महिला अधिकारका मुद्दा थप सशक्त रूपमा उठिरहेको उहाँको भनाइ थियो।

उहाँले वर्गीय मुक्ति र लैङ्गिक समानता एकअर्कासँग अन्तरसम्बन्धित रहेको बताउँदै केवल लिङ्गीय आधारमा वा केवल वर्गीय आधारमा आन्दोलन सफल नहुने धारणा राख्नुभयो।

कविगोष्ठीमा विविध सृजनाको वाचन

कार्यक्रममा ओमप्रसाद कोइराला, कुमार नेपाल, नवराज श्रेष्ठ, रसुवाली कवि, महेशराज खरेल, डा. मनोजराज जोशी, सुशीला प्रधानाङ्ग, राम विनय, नर्मदेश्वरी सत्याल, गायत्रीकुमार चापागाईं, पोषरमण चापागाईं, डा. गोविन्दप्रसाद आचार्य, प्रमोद भण्डारी, अच्युत घिमिरे, रामचन्द्र दाहाल, नवराज ढकाल, बलराम विष्ट, राधिका सापकोटा, जयन्त पोखरेल र रामबहादुर पहाडीले कविता, गीत, गजल तथा मुक्तक वाचन गर्नुभएको थियो।

वाचन गरिएका रचनाहरूमा सामाजिक विसङ्गति, राजनीतिक विकृति, लैङ्गिक असमानता, प्रेम, आशा, शान्ति र सद्भावजस्ता विविध विषय समेटिएका थिए। केही कवितामा मुलुकमा बढ्दो अराजकता, चुनावकेन्द्रित राजनीति र जनअपेक्षाप्रति उदासीन प्रवृत्तिको आलोचना गरिएको थियो भने केही रचनामा शान्ति, समानता र नवचेतनाको आह्वान गरिएको थियो।

वाचित रचनामाथि उपप्राध्यापक रूपक अलङ्कारले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। उहाँले साहित्य सन्ध्याले लामो समयदेखि नयाँ र पुराना स्रष्टालाई एउटै मञ्चमा उभ्याएर सृजनात्मक बहस र अभ्यासलाई निरन्तरता दिएको बताउनुभयो।

‘साहित्य सन्ध्या’ सामाजिक रूपान्तरणको अभियान

अध्यक्ष राम विनयले साहित्य सन्ध्या केवल कार्यक्रम नभई एक प्रकारको सृजनात्मक कार्यशाला भएको उल्लेख गर्नुभयो। २०४९ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यस अभियानले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको प्रयास गर्दै आएको उहाँको भनाइ थियो।

उहाँले हरेक महिनामा समसामयिक तथा विचारप्रधान विषयमा बहस र कविगोष्ठी आयोजना गर्दै सामाजिक विकृति, विसङ्गति र शासकीय कमजोरीविरुद्ध स्रष्टाको आवाज बुलन्द गर्दै आएको बताउनुभयो। शासकीय तहले सहज रूपमा नसुने पनि सृजनाको माध्यमबाट सत्य र न्यायको पक्षमा उभिनुपर्ने दायित्व साहित्यकारको भएको उहाँले जोड दिनुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष विनयले आगामी महिनामा पनि नयाँ विषयमा बहस तथा कविगोष्ठी आयोजना गरिने जानकारी गराउँदै सहभागी सम्पूर्ण अतिथि तथा स्रष्टाप्रति आभार व्यक्त गर्नुभयो।