युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले


कैलाली ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार निरीक्षण तथा अवलोकन गर्दै उनले वर्तमान समयमा बढ्दो बेरोजगारी समस्याको समाधान सीप विकास र उद्यमशीलता प्रवद्र्धनमार्फत मात्रै सम्भव रहेको बताए ।

उनले भने, “देशको ठूलो जनसंख्या युवाहरूको छ । यदि युवालाई समयमै प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्न सकियो भने उनीहरू रोजगार खोज्ने होइन, रोजगार दिने अवस्थामा पुग्न सक्छन् । त्यसैले युवाहरूलाई व्यवसायिक सीप सिकेर स्वरोजगार एवं आत्मनिर्भर बनाउनु आवश्यक छ ।”

यसैगरी पूर्वमन्त्री आलेले युवाको रुचि र बजारको मागअनुसारका तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । परम्परागत तालिमभन्दा पनि सूचना प्रविधि, कृषि आधुनिकीकरण, पर्यटन, निर्माण, साना तथा घरेलु उद्योगजस्ता क्षेत्रमा आधारित तालिमले दिगो रोजगारी सिर्जना गर्न सक्ने उनको भनाइ थियो ।

“युवाहरुका चाहना अनुसारका विभिन्न प्राविधिक तथा व्यवसायिक सीप तालिम र कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ,” उनले भने, “सीप विकाससँगै सहुलियत ऋण, बजार पहुँच र परामर्श सेवा उपलब्ध गराउन सके स्वरोजगार अभियान प्रभावकारी हुन्छ ।”

उनले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि पनि सीपमूलक तालिम अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याए । दक्ष जनशक्तिको अन्तर्राष्ट्रिय बजारमा उच्च माग हुने र सीपअनुसार पारिश्रमिक प्राप्त हुने भएकाले राज्यले प्रस्थानपूर्व सीप अभिमुखीकरणलाई अनिवार्य बनाउनुपर्ने उनको धारणा थियो ।

“सीप सिकेपछि स्वदेशमै उद्यम गर्न सकिन्छ । विदेश जाँदा पनि दक्ष जनशक्तिको माग उच्च हुन्छ र सीपअनुसारको पारिश्रमिक पाइन्छ,” उनले भने ।

सीप विकास कार्यक्रम प्रभावकारी बनाउन राज्यले बजेट तथा नीतिगत प्राथमिकता बढाउनुपर्नेमा जोड दिँदै उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए । बेरोजगारी न्यूनीकरण, गरिबी अन्त्य र आर्थिक समृद्धिका लागि सीपमूलक तालिम दीर्घकालीन समाधान भएको उनको विश्वास छ ।

उनले सीपमूलक तालिम कार्यक्रमले युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उल्लेख गर्दै स्वरोजगारमा लाग्ने युवालाई प्रोत्साहन स्वरूप अनुदान, कर छुट तथा व्यवसाय दर्ता प्रक्रियामा सहजीकरण गर्नुपर्ने सुझाव समेत दिए ।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ मा हाल ७ विधाअन्तर्गत २२ वटा तालिम सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार गत माघ ५ गतेदेखि सुरु भएको मेला एक महिनासम्म सञ्चालन हुनेछ ।

मेलामा सिलाइ–कटाइ, ब्यूटिसियन, कम्प्युटर तालिम, इलेक्ट्रिसियन, प्लम्बिङ, मोबाइल मर्मत, कृषि तथा पशुपालनसम्बन्धी तालिमहरू समावेश गरिएका छन् । तालिममा सहभागी युवाहरूले छोटो अवधिमा उपयोगी सीप सिकेर आयआर्जनमा लाग्न सक्ने विश्वास गरिएको छ ।
कार्यक्रमको अवलोकनका क्रममा पूर्वमन्त्री आलेले सीप मुलक मेला आयोजना गरेकोमा धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाललाई धन्यवाद व्यक्त गरे ।

स्थानीय तहले युवामैत्री कार्यक्रम ल्याएर उदाहरणीय कार्य गरेको उनको भनाइ थियो । उनले आगामी दिनमा पनि यस्ता सीप तथा रोजगारमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर व्यापक रोजगारी सिर्जना गर्न सकिने धारणा राखे ।

सीप, श्रम र उद्यमशीलतालाई जोडेर मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव हुने उल्लेख गर्दै उनले युवालाई अवसर दिन सके देशको आर्थिक अवस्था सुदृढ बन्ने विश्वास व्यक्त गरे । तालिममा करिब छ सय जना युवाहरु सहभागी रहेका छन् ।