काठमाडौं।
विश्व क्यान्सर दिवस, अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस तथा विश्व रेडियो दिवसको सुअवसर पारेर शुक्रवार राजधानी काठमाडौँमा विशेष क्यान्सर सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
‘इमेज च्यानल निर्णय एनएसकेको साथ घर बनाउनुहोस्’ कार्यक्रमको २७औँ वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । सञ्चार माध्यममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा क्यान्सरसम्बन्धी जानकारीमूलक सन्देश प्रवाहसँगै सहभागीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

कार्यक्रममा २५ जना महिला कलाकार तथा प्रतियोगिताका विजेताहरूका लागि विशेष क्यान्सर सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै आवश्यक स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै उहाँले २७ वर्षदेखि निरन्तर रूपमा सञ्चालित कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो । सञ्चार माध्यममार्फत स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन इमेज च्यानल र यसको नेतृत्वदायी टोलीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले यस्ता कार्यक्रमले क्यान्सरजस्तो जटिल रोगबारे आम नागरिकलाई सचेत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा इमेज च्यानलका कार्यकारी अध्यक्ष तथा कामना न्युज पब्लिकेशन्सका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले नेपाल क्यान्सर निवारण प्रतिष्ठानसँग भएको सहकार्यले आफू नेतृत्वमा रहेका संस्थाहरूको जिम्मेवारी अझ बढाएको बताउनुभयो । उहाँले स्वास्थ्य सूचना र जनचेतनामूलक सामग्री मार्फत आम नागरिकलाई समयमै जानकारी उपलब्ध गराउनु अहिलेको प्राथमिक आवश्यकता भएको उल्लेख गर्नुभयो ।

द्विपक्षीय सम्झौता कार्यक्रम अन्तर्गत नेपाल क्यान्सर निवारण प्रतिष्ठान र मेडिक्वेस्ट ल्याबबीच स्वास्थ्य सेवा विस्तारका लागि औपचारिक सहकार्य गरिएको थियो । साथै, इमेज ग्रुप र कामना प्रकाशनका कर्मचारीहरूलाई प्रयोगशाला परीक्षणमा विशेष छुट उपलब्ध गराउने सम्बन्धी अर्को सम्झौतामा इमेज च्यानल तथा कामनाका तर्फबाट दिरेकलाल श्रेष्ठ र ल्याबका तर्फबाट सुवेच्छा घिमिरेले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा छाला रोग तथा क्यान्सर विशेषज्ञ डा. मोहन भुसालले नेपालमा देखिने प्रमुख क्यान्सर रोगहरूको अवस्थाबारे प्रस्तुति दिनुभएको थियो । उहाँका अनुसार नेपालमा महिलामा स्तन क्यान्सर पहिलो नम्बरमा र पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा रहेको छ । त्यस्तै, पुरुषहरूमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिने गरेको तथ्य उहाँले प्रस्तुत गर्नुभयो । छालाको क्यान्सर तुलनात्मक रूपमा कम प्राथमिकतामा परे पनि गम्भीर प्रकृतिको हुने भएकाले समयमै परीक्षण र उपचार आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरिगोपाल प्रधानांगले सम्झौतापत्रमा हस्ताक्षर गर्नुका साथै अतिथि तथा सहभागी कलाकारहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । सोही अवसरमा सञ्चार माध्यममार्फत स्वास्थ्य सचेतनामा योगदान पु¥याएको भन्दै दिरेकलाल श्रेष्ठलाई प्रमाणपत्र र सम्मान स्वरूप थाङ्का प्रदान गरिएको थियो ।
क्यान्सर विजेता कलाकार देविका बन्दनाले आफ्नो अनुभव सुनाउँदै कोभिड–१९ महामारीका क्रममा क्यान्सरसँग संघर्ष गरिरहँदा पनि सांगीतिक क्षेत्रमा सक्रिय रहेको बताउनुभयो । क्यान्सरसम्बन्धी आफ्नो अनुभव समेटिएको पुस्तक प्रकाशनमार्फत सार्वजनिक गर्दा शुभेच्छुक तथा आफन्तबाट प्राप्त सहयोग र मायाले थप हौसला मिलेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमको समापनमा वार्षिकोत्सवको अवसरमा केक काट्नुका साथै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । आयोजक निर्णय एनएसकेका अनुसार रेडियोको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्दै स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । आगामी दिनमा पनि यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिँदै अघि बढाइने जानकारी दिइएको छ ।
कार्यक्रममा सुरबहादुर श्रेष्ठ, सरस्वती श्रेष्ठ, अञ्जना पुन, डा. समिम अख्तर लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।











प्रतिक्रिया