सुनसरी।
सशस्त्र प्रहरी बल, नेपालले सुनसरीको सीमा नाकाबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी अन्तर्गत निर्वाचन क्षेत्र सुरक्षा बेसले शुक्रबार साँझ सुनसरी गाउँपालिका–३ जमुवा स्थित सीमा नाकाबाट भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका ३६ वर्षीय राम थेलन पासवानलाई नियन्त्रणमा लिएको हो। उनी भारतको अररिया ग्राम पंचायत–४ का बासिन्दा हुन्।
उनको साथबाट इटालीमा निर्मित पेस्तोल एक थान, सोको तीन राउण्ड गोली, करिब १ सय ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, नेपाली रुपैयाँ ७ हजार ५ तथा भारतीय रुपैयाँ ९ हजार ३ सय ८० नगद बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका पासवानलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
निर्वाचन लक्षित सुरक्षा कडाइ
यसैबीच, आसन्न निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। मनिष थापा, सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा नं. १ बराह बाहिनीका बाहिनीपतिले इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमा नाकाहरूको स्थलगत अनुगमन गर्दै चेकजाँचलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
डिआइजी थापाले सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रणमा कुनै पनि किसिमको ढिलासुस्ती नगर्न मातहतका सबै युनिटलाई निर्देशन दिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
सीमा क्षेत्रमा बढाइएको कडाइका कारण हतियार तथा लागूऔषधसहित व्यक्तिलाई नियन्त्रणमा लिन सफलता मिलेको सुरक्षा अधिकारीहरूको भनाइ छ।











प्रतिक्रिया