काठमाडौँ।
विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित ३ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे छ।
अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले शुक्रबार निगमका प्रमुख दाससहित ३ जनालाई ५ महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो । यसै मुद्दामा गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटको हकमा भने बदनियत राखेको वा मिलेमतो गरेको वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको छ ।
अदालतले निगमका गण्डकी प्रदेशका प्रमुख दास, निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही ५ महिना कैद हुने ठहर गरेको छ । तीन जनालाई बिगोको आधा रकम (२,२४,२६२.९१) लाई दामासाहीले भाग लगाउँदा हुने जनही ५६ हजार ६५ रुपैयाँ ७२ पैसा जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत आदेश दिएको छ ।
उनीहरूमाथि अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । कूल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो ।
बिलमा उल्लेख भएभन्दा बढी ३ हजार ३८ लिटर डिजेलको प्रतिलिटर मूल्य १ सय ४७ अनुसार ४ लाख ४८ हजार ५ सय २५ हिनामिना भएको आयोगले दावी गरेको थियो ।











प्रतिक्रिया