नेकपा माओवादी रुपन्देहीको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक: वैकल्पिक शक्तिमा गम्भीर संक्रमण

376
Shares

बुटवल। 

नेकपा माओवादीले वैकल्पिक शक्ति भन्दै नयाँ खुलेका दलमा पनि पुरानै रोगको गम्भीर संक्रमण देखिएको बताएको । नेपाल कम्युनिस्ट पार्टी माओवादीका पोलिटब्युरो सदस्य बसन्त श्रेष्ठले नयाँ खुलेका दलमा पनि पुरानै रोगको गम्भीर संक्रमण देखिएको औंल्याउँदै नेपाली जनताले खोजेको भ्रष्टाचारको अन्त्य गरि सुशासन कायम गर्ने कुरामा प्रतिबद्ध पार्टी नेकपा (माओवादी) नै रहेको दाबी गरे ।

अहिले चुनावका नाममा उम्मेद्ववारहरुले भ्रष्टाचारको बिउ रोप्ने काम गरेको आरोप लगाउँदै भने–‘अहिले यो चुनावमा देखिएको तडकभडकले भ्रष्टाचारको अन्त्य हुन्छ र सुशासन आउँछ भनेर कसरी पत्याउने ?’

२०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्ध दिवसको अवसरमा शुक्रवार बुटवलमा आयोजना गरिएको रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको परिचयात्मक तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य श्रेष्ठले यो निर्वाचनले पनि देशलाई निकास दिनेमा आशंका व्यक्त गरे ।

कार्यक्रममा पार्टीका रुपन्देही इन्चार्ज शरद वलीले विगतका वर्षहरुमा फरक ढंगले जनयुद्ध दिवस मनाउँदै आएको भएपनि अहिलेको परिवेश पनि बदलिएको र पार्टी चुनावी प्रतिस्पर्धामा ओर्लीको अवस्थामा चुनावी कार्यक्रम पनि भएकाले जनता समक्ष पार्टीका एजेन्डा सार्वजनिक गर्नेगरी दिवस मनाईएको बताए ।

त्यस अवसरमा नेकपा (माओवादी)का तर्फबाट रुपन्देहीका क्षेत्र नं. २ का उम्मेदवार विरेन्द्र विक, क्षेत्र नं. ४ का उम्मेदवार विष्णुप्रसाद तिवारी र क्षेत्र नं. ५ का उम्मेदवार विष्णुप्रसाद भट्टराईले आफ्नो चुनावी एजेन्डासहित प्रतिबद्धता व्यक्त गरेका थिए ।