अरनिको यातायातद्वारा रामेछापमा अनिश्चितकालीन सेवा बन्द


रामेछाप ।

रामेछापको मन्थली नगरपालिका–६ स्थित मसानटारमा भएको बस दुर्घटना र त्यसपश्चात् सिर्जित सुरक्षा जोखिमका कारण नेपाल अरनिको यातायात सेवा प्रा.लि.ले आफ्नो सेवा प्रवाहमा कटौती गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै काठमाडौँदेखि खुर्कोट हुँदै मन्थली चल्ने सम्पूर्ण क्यूका बसहरू अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

नेपाल अरनिको यातायात सेवा प्रा.लिले मसानटारमा भएको दुर्घटनालाई मध्यनजर गर्दै यात्रु, चालक र सहचालकको सुरक्षामा चुनौती देखिएकाले हाललाई सेवा बन्द गर्नु परेको स्पष्ट पारेको छ। सहायक कार्यालय प्रमुख विकास लामाले हस्ताक्षर गरेको सूचनामा अनुसार सुरक्षा संवेदनशीलताका कारण यो कडा कदम चालिएको उल्लेख छ ।

सूचनमा प्रा.लि.ले आफ्ना सम्पूर्ण व्यवसायी, मजदुर र कर्मचारीहरूलाई हाललाई कुनै पनि बस मन्थली रुटमा नचलाउन भनेको छ । यसले काठमाडौँ र मन्थली आउजाउ गर्ने यात्रुहरू र जिल्ला भित्रका नागरिकले पनि समस्य व्यहोर्नु पर्ने छ ।