काठमाडौं ।
भारत र श्रीलंकामा जारी ट्वान्टी–२० विश्वकप अन्तर्गत नेपालले बिहीबार इटलीसँग प्रतिस्पर्धा गर्दैछ। ५० ओभरको क्रिकेटमा नेपाल र इटलीबीच यसअघि तीन पटक भेट भइसकेको भए पनि टी–२० अन्तर्राष्ट्रियमा भने यो पहिलो आमनेसामने हो। विश्वकपमा पहिलो पटक सहभागी बनेको इटली र तेस्रो पटक विश्वकप खेल्दै गरेको नेपालबीचको यो खेल दुवै टोलीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
अघिल्लो चरणमा स्थान सुरक्षित गर्न यो खेलले निर्णायक भूमिका खेल्नेछ। इटलीको क्रिकेट यात्रा इटलीले सन् १९८४ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एफिलियट सदस्यता प्राप्त गरेको थियो भने सन् १९९५ मा एसोसिएट सदस्यको मान्यता पाएको हो। इटलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९८९ मा डेनमार्कविरुद्ध खेलेको थियो। टी–२० अन्तर्राष्ट्रियको सुरुवात भने इटलीले सन् २०१९ मा जर्मनीविरुद्ध गरेको थियो। हालसम्म इटलीले ४० वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ, र नेपाल इटलीको १९औं टी–२० अन्तर्राष्ट्रिय प्रतिद्वन्दी बन्नेछ।
छनोट र वार्मअपमा प्रभावशाली प्रदर्शन पछिल्लो समय इटलीको प्रदर्शन उल्लेखनीय देखिएको छ। यस विश्वकपका लागि आयोजित युरोपेली छनोट प्रतियोगितामा इटलीले स्कटल्याण्डलाई १२ रनले पराजित गर्दै सबैलाई चकित पारेको थियो। उक्त हारसँगै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको थियो। यद्यपि, बंगलादेशले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्याण्डले पुनः अवसर पाएको थियो।
विश्वकप अघि इटलीले आयरल्याण्ड र नामीबियामाथि जित निकाल्दै राम्रो लय बनाएको थियो। वार्मअप खेलमा पनि इटलीले क्यानडा र युएईलाई हराउँदै आत्मविश्वास बढाएको थियो। तर मुख्य प्रतियोगितामा भने इटलीले अपेक्षाअनुसार सुरुवात गर्न सकेन। विश्वकपमा स्कटल्याण्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएपछि इटली दबाबमा परेको छ। अनुभवी खेलाडीको भर इटलीको वर्तमान टोलीमा विभिन्न देशका प्रतिष्ठित फ्रेन्चाइजी लिग र घरेलु प्रतियोगिता खेलेका खेलाडी समावेश छन्।
अस्ट्रेलियाको बिग बास लिग (बीबीएल), दक्षिण अफ्रिकाको राष्ट्रिय टोली, इंग्ल्याण्डको काउन्टी क्रिकेट तथा अन्य अन्तर्राष्ट्रिय फ्रेन्चाइजी प्रतियोगितामा अनुभव बटुलेका खेलाडीले टोलीलाई मजबुत बनाएका छन्। अनुभवका हिसाबले टोली बलियो देखिए पनि अधिकांश खेलाडीले एकसाथ कमै खेल्ने गरेका कारण समन्वयमा केही चुनौती देखिन सक्छ। नेपालका लागि यो खेल अवसर र चुनौती दुवै हो। अनुभवी खेलाडीले भरिएको इटलीविरुद्ध संयमित र योजनाबद्ध खेल प्रदर्शन गर्न सके नेपाल अघिल्लो चरणतर्फ महत्वपूर्ण कदम चाल्न सफल हुनेछ।











प्रतिक्रिया