काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई इमेलमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका एक व्यक्तिमाथि ६ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–१ घर भई हाल फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय प्रकाश पाठकलाई इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो।
उनीलाई बिहीबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार पाठकविरुद्ध केही सार्वजनिक अपराध, ठगीसम्बन्धी कसूर, आपराधिक लाभ लिन नहुने तथा आपराधिक षड्यन्त्र गर्न नहुनेलगायत ६ वटा मुद्दा दर्ता गरिएको छ।
आरोप अनुसार उनले सन् २०२५ अक्टोबर २२ मा प्रयोग गर्दै आएको इमेल ठेगानाबाट अख्तियारका प्रमुख आयुक्तसहित अन्य व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका थिए। घटनापछि उनलाई खोजी सूचीमा राखिएको थियो। इन्टरपोलमार्फत फिलिपिन्स प्रहरीसँग समन्वय गरी उनलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया