डबल सुपर ओभरमा दक्षिण अफ्रिकाको जित, अफगानिस्तान पराजित


काठमाडौँ।

टी–२० विश्वकपअन्तर्गत भएको अत्यन्त रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई डबल सुपर ओभरमा पराजित गरेको छ। नियमित २० ओभरको खेल र पहिलो सुपर ओभर दुवै बराबरी भएपछि दोस्रो सुपर ओभरबाट नतिजा टुंगिएको हो।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। जवाफमा अफगानिस्तानले पनि निर्धारित २० ओभर पूरा हुन दुई बल बाँकी छँदै १८७ रनमै अलआउट हुँदै खेल बराबरीमा पुर्‍यायो।

बराबरीपछि भएको पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन बनायो। दक्षिण अफ्रिकाले पनि समान १७ रन जोड्दै पुनः खेल बराबरीमा रोकियो।

निर्णायक दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २३ रन बनायो। ट्रिस्टन स्टब्स र डेभिड मिलरले आक्रामक सुरुआत गरेका थिए। मिलरले दुई छक्कासहित १६ रन जोड्दा स्टब्सले ७ रन बनाए।

२३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले रहमानुल्लाह गुरबाज र अज्मतुल्लाह ओमरजाईलाई क्रिजमा उतारे पनि ६ बलमा १९ रन मात्र बनाउन सकेपछि दक्षिण अफ्रिका विजयी भयो।

डबल सुपर ओभरसम्म पुगेको यो खेल विश्वकपकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक बनेको छ।