काठमाडौँ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचनको समयमा नेपाल प्रहरी वा निर्वाचनमा खटिएका कर्मचारीलाई सहयोग आवश्यक परेमा तत्काल खटिन र त्यसको लागि आदेश लिईरहन नपर्ने निर्देशन दिएका छन् ।
माघ २७ र २८ गते गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले भूकम्प जस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालन पश्चात मुख्यालयमा जानकारी गराउनहुन निर्देशन दिएका हुन् ।
आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारवाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो महानिरीक्षक अर्यालले भने । मंगलबार महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन प्रहरीहरुलाई समेत पूर्ण आत्मविश्वासकासाथ निर्वाचनमा परिचालन भई निर्वाचन सुरक्षामा खटिनु पर्नेमा जोड दिए ।
सोही दिन उनले स्याङजा र पाल्पा जिल्लाका सशस्त्र प्रहरी बल नेपालका युनिटहरु पुगेर निर्वाचन सुरक्षा बारे जानकारी लिएका थिए । स्याङजास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्तरीय सुरक्षा समितिको पदाधिकारीहरुसँग महानिरीक्षक अर्यालले आसन्न निर्वाचनको सुरक्षा बारेमा जानकारी लिए ।
निर्वाचन विथोल्न खोज्नेहरुको प्रयास विफल बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुहुँदै उनले निश्पक्ष निर्वाचन र मतदाताको सुरक्षामा कुनै कमीकमजोरी नगर्न निर्देशन दिए । सो क्रममा स्याङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिल्लामा नै आएर शान्ति सुरक्षा बारे जानकारी लिनुभएकोमा सुरक्षा व्यवस्थापनमा थप उर्जा मिलेको बताए ।
यसैगरी महानिरीक्षक अर्यालले स्याङजा वालिङ्गस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म र निर्वाचन सुरक्षा बेश गल्याङ पुगेर निर्वाचन तयारीबारे जानकारी लिनुकासाथै आवश्यक निर्देशन दिएका छन् ।
यसैगरी मंगलबार नै उनले सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका छन् । सो क्रममा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले निर्वाचन सुरक्षा बारे जानकारी गराउनुकासाथै प्रमुख जिल्ला अधिकारी विनु बज्रचार्य कुँवर लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग जिल्लाको शान्ति सुरक्षा र निर्वाचन सुरक्षाबारे जानकारी समेत लिएका थिए ।
महानिरीक्षक अर्यालले उच्च मनोवलकासाथ निर्वाचन सुरक्षामा खटिन र नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन कर्मचारीहरुलाई थप मद्दत र सहयोग आवश्यक परेमा आदेश विना नै तत्काल परिचालन हुन देशैभरका युनिटलाई निर्देशन दिएको जानकारी समेत गराएका थिए । उनले बुधबार गुल्मी जिल्लाको शान्ति सुरक्षा निर्वाचन तयारीबारे पनि जानकारी लिएका छन् । उनले लुम्बिनी प्रदेशमा समेत निर्वाचन तयारीबारे स्थलगत भ्रमण, अनुगमन तथा जानकारी लिएका छन् ।
यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सुदूरपश्चिम प्रदेश अन्तर्गत नं. ७ बाहिनी मातहत सशस्त्र प्रहरी बल नेपालका युनिटहरुको अनुगमन गरी निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन् ।











प्रतिक्रिया