प्रतिनिधिसभा निर्वाचन : ५१ जनासँग स्पष्टीकरण माग, ३० को जवाफ प्राप्त


काठमाडौँ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घनसम्बन्धी ५१ वटा उजुरी परेपछि निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालासँग स्पष्टीकरण माग गरेको जनाएको छ। तीमध्ये ३० वटाको जवाफ प्राप्त भइसकेको आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार आचारसंहिता उल्लङ्घनको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारविरुद्ध उजुरी दर्ता भएका छन्। दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारसम्बन्धी विषय भने प्रेस काउन्सिल नेपालमार्फत् स्पष्टीकरण र आवश्यक कारबाहीका लागि पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए।

जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनका उजुरीहरू प्राप्त भइरहेका छन्। ती उजुरीमाथि सम्बन्धित जिल्लाबाटै आवश्यक जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको जनाइएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। आयोगले छोटो समयमै जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्न प्रतिबद्धता गराउने कार्य तीव्र बनाइएको जनाएको छ।

जिल्लाबाट प्राप्त उजुरीमा सम्बन्धित पक्षसँग स्पष्टीकरण मागी दोषी देखिए कानुनी कारबाही प्रक्रिया अघि बढाइने आयोगले स्पष्ट पारेको छ।