मिस इन्फर्मेसन र डिस इन्फर्मेसनलाई चिरेर लक्ष्यलाई पूरा गर्नेतर्फ लाग्नुपर्नेमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको जोड


काठमाडौँ। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समाजमा हुने मिस इन्फर्मेसन र डिस इनफर्मेसनलाई चिरेर राज्यले लिएको लक्ष्य प्राप्तीमा संगठनमा कार्यरत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको परिषरमा निर्माण भएको नेपाल पूर्व सशस्त्र प्रहरी संघ भवन उद्घाटन क्रममा महानिरीक्षक अर्यालले सो कुरा बताएका हुन् ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरु आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलपूर्वक सम्पन्न गराउन विभिन्न निर्वाचन क्षेत्रमा तैनाथ रहँदै आईरहेको बताउदै सो कार्यमा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु भूमिका समेत उल्लेखनिय रहने विश्वास व्यक्त गरे।

महानिरीक्षक अर्यालले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले समाजमा हुने वा हुनसक्ने सम्भावित घटना तथा दुर्घटना लगायतका कुराहरुलाई संगठनसम्म पु¥याई त्यस्ता कार्यहरुलाई समयमा नै सहयोगतर्फ लाग्नुपर्ने बताए । सोही क्रममा महानिरीक्षक अर्यालले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम समेत गरेका थिए ।

त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालमा भर्ना भएका निर्वाचन प्रहरीको भूमिका राष्ट्रिय सुरक्षामा समेत महत्वपूर्ण हुने उल्लेख गर्दै उनीहरुलाई विपद् सूचकको रुपमा स्थापित गर्न निर्देशन दिएका छन् ।