फतुवा विजयपुर स्प्रे ट्यांकी खरिद प्रकरणमा एक जनालाई कैद र जरिवाना, अन्यलाई सफाइ


काठमाडौं।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा कृषकका लागि औषधि छर्ने स्प्रे ट्यांकी खरिद प्रक्रियामा भएको अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतले एक जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ भने अन्य प्रतिवादीहरूलाई सफाइ दिएको छ।

विशेष अदालत काठमाडौंको इजलास नम्बर १ का अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावलको इजलासले जनसवाल राष्ट्रिय दैनिक र तराई एक्सप्रेस दैनिक पत्रिकाको स्थानीय प्रतिनिधि दाबी गर्ने ओमप्रकाश यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दोषी ठहर गरेको हो।

ओमप्रकाश यादवले आफूलाई पत्रिकाको प्रतिनिधि भन्दै बोलपत्र तथा आशयको सूचना सीमित प्रतिमा मात्र प्रकाशित गरी नगरपालिकामा पेश गरेका थिए। सोही आधारमा उनले २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी लिएको प्रमाणित भएको अदालतको ठहर छ।

अदालतले उनलाई ६ महिना कैद सजाय सुनाउँदै बिगो रकम बराबर २ लाख १२ हजार २२५ जरिवाना गर्ने आदेश दिएको छ। साथै अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार ४ प्रतिशतका दरले .८ हजार ४८९ क्षतिपूर्ति शुल्क अपराध पीडित संरक्षण कोषमा बुझाउन पनि आदेश दिइएको छ।

तर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव, सह–लेखापाल नविनकुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र तराई एक्सप्रेस दैनिकका प्रकाशक रुपेन्द्र पटेललाई भने अदालतले दोषमुक्त गरेको छ। उनीहरूले पेश गरेको कागजातका आधारमा बदनियत वा गैरकानुनी लाभ लिएको प्रमाण नपुगेको अदालतको निष्कर्ष छ।

अदालतले फैसलाको पूर्णपाठ तयार हुन केही समय लाग्ने जनाउँदै हाल संक्षिप्त फैसला सार्वजनिक गरेको हो।