काठमाडौं ।
नागार्जुन नगरपालिकाको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा ‘नागार्जुन उपमेयर कप १२ औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता’ फागुन २८ गतेदेखि सुरु हुने भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक डोजाङका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बब्लु सिवाकोटीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता नागार्जुनको खोपाटोलमा आयोजना गरिनेछ । प्रतियोगितामा काठमाडौं जिल्लाका ४० डोजाङबाट करिब ६ सय खेलाडीले सहभागिता जनाउने बताइएको छ । यसपटक गेरोगी विधातर्फ चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेतर्फ क्याडेट, जुनियर र सिनियर गरी जम्मा २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल लागत करिब २० लाख रुपैयाँ अनुमान गरिएको छ । जहाँ शीर्ष तीन स्थान हासिल गर्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कृष्ट घोषित हुने पुरुष तथा महिला खेलाडीलाई जनही १० हजार रुपैयाँले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसपटक प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीहरूका लागि विशेष शैक्षिक अवसरको समेत व्यवस्था गरिएको छ। बाफलस्थित हृदय निकेतनले हरेक विधाका स्वर्ण विजेतालाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्झौता गरेको छ ।
सो अवसरमा अध्यक्ष सिवाकोटी र हृदय निकेतनका प्रिन्सिपल करणसिंह गोयलाले सम्झौता पत्रमा हस्ताक्षर गरे । यसका साथै सिड्नीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सीतापाइला डोजाङका खेलाडीहरूलाई अस्ट्रेलियास्थित ‘लेजिड ब्रडर्स’ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा तार्केश्वर नगर खेलकुद विकास समितिका उपाध्यक्ष फिरोज श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्णायक राजन भण्डारी र लेजिड ब्रडर्सका प्रतिनिधि सुसन दुलाल लगायतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया