रामेछाप बस दुर्घटना अपडेटः १० मृतकको पहिचान खुल्यो


रामेछाप।

रामेछाप सदरमुकाम मन्थली नजिक भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ रहेका छन्। यसैगरी लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ तथा दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङको पनि दुर्घटनामा मृत्यु भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिए।

उनका अनुसार मृतक दुई जनाको सनाखत हुन बाँकी छ।

रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार दुर्घटनामा बस चालकसहित आठ जना घाइते भएका छन्। घाइतेहरूको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल तथा तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान मन्थली नगरपालिका–६ मसानटार क्षेत्रमा सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो। दुर्घटनापछि बसका बाँकी यात्रुको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।