काठमाडौं ।
पाकिस्तानमा सम्पन्न ९औँ Pakistan Army Team Spirit प्रतियोगितामा नेपाली सेनाले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको छ।
पाकिस्तानको पन्जाब प्रान्तस्थित National Counter Terrorism Centre (NCTC) मा माघ २२ देखि २४ गतेसम्म सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय सैन्य अभ्यास तथा प्रतिस्पर्धामा पाकिस्तानसहित १७ राष्ट्रका ३८ वटा सैनिक टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताका क्रममा सहभागी टोलीहरूबीच शारीरिक सहनशीलता, मानसिक दृढता, पेशागत ज्ञान, रणकौशल तथा नेतृत्व क्षमताको परीक्षण गरिएको थियो। नेपाली सेनाको टोलीले सबै सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएको नेपाली सेनाले जनाएको छ।
सन् २०१६ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र २०२५ मा समेत स्वर्ण पदक जितिसकेको छ।

नेपाली सेनाको यो सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सैनिक व्यावसायिकता, क्षमता र प्रतिष्ठालाई थप उचाइमा पुर्याएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।











प्रतिक्रिया