काठमाडौं ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिनका लागि गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने निर्णय भएको बताए ।
उनका अनुसार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार गठित उक्त आयोगलाई प्रतिवेदन पेस गर्न थप समय आवश्यक भएकाले समयावधि विस्तार गरिएको हो ।
त्यस्तै, बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गरेको छ । यसले मुलुकको आर्थिक अवस्थाबारे समग्र तथ्यांक संकलन गर्न सहयोग पुग्ने सरकारको विश्वास छ ।
यसैगरी, नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका अनुसार उक्त प्रतिवेदनमार्फत आर्थिक वर्षभरिका प्रमुख गतिविधि, उपलब्धि र चुनौतीहरू राष्ट्रपतिलाई जानकारी गराइनेछ











प्रतिक्रिया