ग्राउन्ड जिरो इलाम–२: बाबुसँगको हारको बदला छोरासँग लिने तयारीमा आचार्य

नेम्वाङलाई बाबुको विरासत जोगाउने चुनौती

2.82k
Shares

इलाम ।

इलाम क्षेत्र नम्बर २ मा एक नेताका लागि यो निर्वाचन बाबुसँग अधुरो रह्यो, अब छोरासँग पूरा गर्ने अवसर बनेको छ । र, अर्का नेताका लागि यो निर्वाचन बाबुको राजनीतिक विरासत जोगाउने चुनौती बनेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका भेषराज आचार्य र नेकपा एमालेका सुहाङ नेम्वाङबीचको भिडन्त इलाम–२ मा सबैभन्दा रोचक बनेको छ ।

१२ वर्षअघि अर्थात् २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका भेषराज आचार्य पराजित हुनुभएको थियो । त्यति बेलाका प्रतिद्वन्द्वी हुनुहुन्थ्यो संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ । त्यति बेला आचार्यले १२ हजार ८ सय २८ मत पाउनुभयो भने नेम्वाङले १४ हजार ९ सय ३० मतसहित जित हासिल गर्नुभयो । तर, आज, समय फेरिएको छ । बाबु छैनन्, तर प्रतिस्पर्धा उही छ, फरक यतिमात्रै हो, अब बाबुको ठाउँमा छोरा चुनावी मैदानमा छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सुवासचन्द्र नेम्वाङले यही क्षेत्रबाट कांग्रेसका डम्बर खड्कालाई जम्मा १ सय १४ मतको झिनो अन्तरले पराजित गर्नुभएको थियो । तर, २०८० सालमा नेम्वाङको निधन भएपछि २०८१ मा यहाँ उपनिर्वाचन भयो । त्यही उपनिर्वाचनले इलाम–२ को राजनीतिक यात्रामा नयाँ अनुहारलाई स्थापित ग¥यो ।

सो उपनिर्वाचनमा स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङ सानदार जितसहित संसद् छिर्नुभयो । बाबुकै पदचाप पछ्याउँदै राजनीतिमा होमिएका सुहाङ नेम्वाङलाई एमालेले उम्मेदवार बनायो । पहिलो प्रयासमै उहाँले आफूलाई अब्बल साबित गर्नुभयो । बाबुकै अन्तिम प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्कालाई झन्डै पाँच हजारभन्दा बढी मतान्तरले हराउँदै सुहाङले सानदार जित निकाल्नुभयो । अब फेरि सुहाङ चुनावी मैदानमा हुनुहुन्छ । तर, यसपटक बाबुको १२ वर्षअघिको प्रतिद्वन्द्वी भेषराज आचार्य उहाँका सामु हुनुहुन्छ । प्रतिस्पर्धा सबै उम्मेदवारसँग हुनेछ, तर जित आफ्नै हुने र नयाँ पुस्ताको आवाज संसद्सम्म पु¥याउने सुहाङको दाबी छ । एमालेका केन्द्रीय सदस्यसमेत रहेका सुहाङ नेम्वाङ युवा पुस्ताको प्रतिनिधि र संगठनात्मक रूपमा बलियो उम्मेदवार मानिनुहुन्छ । तर, उहाँलाई चुनौती दिइरहनुभएको छ चार दशकदेखि राजनीतिमा सक्रिय कांग्रेस नेता भेषराज आचार्य ।

पार्टी संगठन निर्माणबाटै स्थापित आचार्य लो–प्रोफाइलमा बसेर राजनीति गर्ने, कहिल्यै विवादमा नआएका नेताका रूपमा चिनिनुहुन्छ । यो निर्वाचन उहाँका लागि पहिलोपटक संसद् प्रवेश गर्ने र बाबुसँगको हारको बदला छोरासँग लिने अवसर बनेको छ । आचार्य इलामका जनता र संगठनका लागि समर्पण गरेका नेता हुनुहुन्छ । यसपटक मतदाताले आफूलाई मत दिएर जिताउने आचार्यको भनाइ छ ।

क्षेत्र नम्बर २ मा एक स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी परेको छ । यता, इलाम क्षेत्र नम्बर १ मा १३ जना उम्मेदवार छन् । दुवै क्षेत्र गरी इलाममा कुल २७ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि उम्मेदवारहरू अहिले मतदाताको घरदैलोमा पुग्न थालेका छन् । बाबुसँगको अधुरो प्रतिस्पर्धा छोरासँग टुंग्याउने चाहना र बाबुको विरासत जोगाउने संकल्प इलाम–२ को यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धामात्र नभई कसैलाई बाबुसँगको हारको बदला छोरासँग लिने र कसैलाई बाबुको विरासत जोगाउने चुनौती बनेको छ ।