अब २४ दिन बाँकी: ७२ लाख ६० हजार प्रति मतपत्र छापियो


काठमाडौं।

निर्वाचन आयोगले हालसम्म ६० वटा निर्वाचन क्षेत्रको लागि पुग्ने ७२ लाख ६० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेमा हालसम्म सो संख्या मतपत्र छपाइ कार्य सकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । सो मतपत्र छपाइ भई ५ हजार ८ सय २५ बाकस प्याकिङ भइसकेको छ ।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रूकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ ।
त्यसै गरी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि १० लाख ९८ हजार २ सय मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरूमा पठाइसकिएको आयोगले जनाएको छ । गत पुस २६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिएको थियो । ती मतपत्रहरू प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।

यसैबीच आयोगले निर्वाचनका लागि निर्वाचन आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको आयोगले जनाएको छ ।

आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टिकर रहेका छन् ।

त्यसै गरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुकको काम गर्ने), मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, स्किसर्स, ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचय पत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसंख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन् ।