केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता


काठमाडौं।

केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पाँचौँ तथा अन्तिम चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता बनेका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको रेसमा पुरुषतर्फको विजेता लोकेन्द्रले एक घन्टा ४१ मिनेट ४ सकेन्ड समय लगाए । चौथो चरणमा उहाँ दोस्रो स्थानमा रहेका थिए । पछिल्लो संस्करणको विजेता मिलान कुलुङ राई भने एक घन्टा ४३ मिनेट र २७ सकेन्ड समयमा दोस्रो भए । दिपक अमात्यले (१ः५८ः२३ सकेन्ड) तेस्रो स्थान बनाए ।

महिलातर्फ चौथो चरणको विजेता सोनिया मार्टिनलाई पछाडि पारेर एनीले उपाधि जितिन् । एनीले २० किमीको दुरी २ घन्टा १७ मिनेट ५७ सकेन्डमा पुरा गरिन् । सोनिया (२ः२३ः२८ सकेन्ड)ले दोस्रो स्थानमा चित्त बुझाइन् । नेपालकी छिरिङ ओङमु शेर्पा (२ः३२ः३० सकेन्ड) तेस्रो भइन् ।
त्यसैगरी, १० किलोमिटर दौडमा पुरुषतर्फछिरिङ टासी ह्योल्मो (१ः१२ः१६ सकेन्ड) पहिलो, प्रेमबहादुर सुनुवार (१ः१४ः४४ सकेन्ड) दोस्रो र तिलविक्रम साम्बाहाङगे (१ः१६ः०९ सकेन्ड) तेस्रो स्थानमा रहे ।

महिलातर्फ अनाबेल ग्रोन्तुनले एक घन्टा २१ मिनेट ५० सकेन्ड समयसहित पहिलो स्थान हात पारिन् । मार्गउस टेस्टन (१ः३५ः३२ सकेन्ड) दोस्रो र मुना लिम्बु (१ः३९ः१४ सकेन्ड) तेस्रो स्थानमा रहे ।“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गरेको हो।