काठमाडौं ।
भारत र श्रीलंकामा सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले खेल्ने खेलहरू काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा प्रत्यक्ष प्रसारण गर्न पाउने भएको छ।
काठमाडौँ महानगरपालिकाले विगतको परम्पराअनुसार क्रिकेटप्रेमी दर्शकका लागि निःशुल्क रूपमा ठूला एलइडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रमका लागि सहमति मागेपछि निर्वाचन आयोगले सर्तसहित अनुमति दिएको हो।
महानगरपालिकाले यहीं माघ २३ गते निर्वाचन आयोगमा पत्र पठाउँदै निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कार्यक्रम सञ्चालनका लागि सहमति मागेको थियो। सोही अनुरोधअनुसार निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को प्रतिकूल नहुने गरी फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मको अवधि बाहेक अन्य मिति र समयमा कार्यक्रम गर्न सहमति प्रदान गरेको जनाएको छ।
महानगरपालिकाले टुँडिखेल, सानो गौचरण, तीनकुने पार्क, जुद्धशालिकाबाट दरबार क्षेत्रतर्फको भाग, गणेशस्थान ग्राउण्ड चाबहिल र हाडीगाउँ डबलीमा एलइडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गर्ने योजना बनाएको छ।
निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा निर्वाचन आचारसंहिता, २०८२ को प्रतिकूल नहुने गरी फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मको अवधि बाहेक अन्य मिति र समयमा कार्यक्रम गर्न सहमति प्रदान गरिएको उल्लेख छ।











प्रतिक्रिया