लमजुङका बैकल्पिक निर्वाचन प्रहरी कास्की सिफारिस

0
Shares

लमजुङ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा बैकल्पिक रुपमा छनौट भएका निर्वाचन प्रहरी कास्की जिल्लामा सिफारिस गरिएको छ । कास्कीमा आवश्यकता अनुसार निर्वाचन प्रहरी अपुग भएपछि लमजुङबाट बैकल्पिक छनौट भएकाहरु पठाउने व्यवस्था गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङले कास्कीबाट माग आएअनुसार बैकल्पिक छनौट भएका निर्वाचन प्रहरीहरुको विवरण पठाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार, जिल्लामा छनौट भएका मध्ये ५१ जना प्रशिक्षणमा अनुपस्थित भएपछि सो संख्या पूर्ति गरी बाँकी सबै बैकल्पिक प्रहरीहरुको विवरण कास्की पठाइएको हो ।

यसअघि प्रशिक्षणमा सहभागी नभएका ५१ जनाको स्थानमा क्रमसंख्याका आधारमा बैकल्पिक प्रहरीले अवसर पाएका छन् । साथै करिब दुईसय जना बैकल्पिक प्रहरीहरुको सम्पर्क विवरण समेत कास्की पठाइएको छ । कास्कीले आवश्यकता अनुसार तीमध्ये केहीलाई प्रशिक्षणमा सहभागी गराउने जनाएको छ ।
यता लमजुङमा भने छनौट भएका निर्वाचन प्रहरीहरुको प्रशिक्षण सुरु भइसकेको छ । निर्वाचन प्रहरीका लागि सदरमुकाम बेसीशहरस्थित जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय भोटेओडार, भोर्लेटार र प्रहरी चौकी तिनपिप्लेमा प्रशिक्षण सञ्चालन भइरहेको छ ।

निर्वाचनका लागि लमजुङमा नेपाल प्रहरीतर्फ एक हजार दुई सय १० जना र सशस्त्र प्रहरीतर्फ ९६ जना छनौट भएका थिए । सशस्त्र प्रहरीको प्रशिक्षण भने सशस्त्र प्रहरी गुल्म रानीकुवाले सञ्चालन गर्ने जनाएको छ ।