आयोगले ३४ राजनीतिक दल र उम्मेदवारलाई सोध्यो स्पष्टीकरण

२४ दलले बुझाए आयाेगमा जवाफ, आचारसंहिता उल्लङ्घनका घटनामा छानबिन हुँदै


काठमाडौँ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा छानबिन र कारबाही भइरहेको जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताएका हुन् ।प्रवक्ता भट्टराईका अनुसार पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्स्याेट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको छ । आयोगले अहिलेसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जनाएकाे हाे।

उनले प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसूर तथा सजाय ऐनबमोजिम आवश्यक कारबाहीको निर्णय लिने बताए । आयोगले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र सुधार गर्न आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ । त्यस्तै ,आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने तर उम्मेदवारले छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको स्मरण गराएको हाे ।

प्रवक्ता भट्टराईले खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने बताए ।