निर्वाचन भयरहित बनाउन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन


काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट माघ २३ गते आयोजित नेट ब्रिफिङमार्फत महानिरीक्षक अर्यालले देशभरका युनिटहरूलाई निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।

उनले निर्वाचनको समयमा आउन सक्ने सम्भावित चुनौती र कठिनाइहरूलाई समयमै आकलन गरी निर्वाचन सुरक्षामा खटिने अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर समाधान गर्न निर्देशन दिए। साथै, मौसम प्रतिकूलताका कारण हिमाली भेगमा हिउँ पर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै वैकल्पिक मतदानस्थलको पहिचानसमेत गर्न आग्रह गरे।

महानिरीक्षक अर्यालले निर्वाचनमा खटिने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा निर्वाचन प्रहरीले आम नागरिकलाई मतदान गर्न आउँदा–जाँदा हुन सक्ने असहजतालाई न्यूनिकरण गर्न तयारी अवस्थामा रहनुपर्ने बताए।

निर्वाचन अवधिमा विभिन्न खालका चुनौती र कठिनाइ उत्पन्न हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले परिचालन हुने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई चनाखो भई जिम्मेवारीपूर्वक कार्य गर्न तथा आवश्यक साधन–स्रोत सधैं तयारी अवस्थामा राख्न निर्देशन दिए।

सो अवसरमा महानिरीक्षक अर्यालले हिमाली तथा विकट क्षेत्रहरूमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी र कार्यालयहरूको अवस्था, मौसमी प्रतिकूलता, भौगोलिक चुनौती तथा समग्र वस्तुस्थितिबारे पनि जानकारी लिएका थिए।